
लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएकी सुमन शर्मा रायमाझीले वर्तमान सरकारलाई आफ्नो समर्थन नरहेको जानकारी प्रदेश सभा सचिवालयलाई गराएकी छन् ।
रायमाझीले जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सहश्रराम यादवलाई दलको नेता मानेर काम गर्ने र शंकर पोखरेल नेतृत्वको सरकारलाई कुनै समर्थन नरहेको जानकारी गराएकी हुन् ।
जसपाबाट प्रदेश सभा सदस्य बनेकी रायमाझीले शुक्रबार राज्यमन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनी वैशाख १९ गते जसपा महन्थ ठाकुर पक्षमा लागेर मन्त्री बनेकी थिइन् ।
मन्त्री भएका चार जनालाई जसपाको महन्थ ठाकुर पक्षको समर्थन थियो भने उपेन्द्र यादव पक्षले कारबाही गरेको थियो ।
प्रदेश सभा सचिवालयलाई बुझाएको पत्रमा उनले जसपाको संसदीय दलको विधानमा दुई वर्षसम्म दलको नेता चयन गर्न नपाउने व्यवस्था भएकाले सहश्रराम यादव नै दलको नेता भएको बताएकी छन् ।
