
युरोकप र कोपा अमेरिका फुटबल प्रतियोगिताका खेलहरूमा सट्टेबाजी गर्ने आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४, सुकेधाराका राजेन्द्र श्रेष्ठ प्रधान (५७), काठमाडौं महानगरपालिका–१९, ढोकाटोलका जीवन लामा (४७), पर्सा वीरगञ्ज महानगरपालिका–७ घर भई कुलेश्वर बस्ने सुरज टिवडेवाल (४६), भारत विहार पूर्वीचम्पारण जिल्ला रक्सौल घर भई कुलेश्वर बस्ने अशोककुमार गुप्ता (४६) रहेका छन् ।
त्यस्तै चितवन खैरहनी नगरपालिका–५, टरौली घर भई धापासी बस्ने गोविन्दप्रसाद आचार्य (४५), भारत हरियाणा विवरनी घर भई इन्द्रचोक बस्ने राजेशकुमार अग्रवाल (४९), भारत राजस्थान झुनझुन सुरजगढ घर भई क्षेत्रपाटी बस्ने सूचित डालमिया अग्रवाल (३३) र मोरङ विराटनगर नगरपालिका–७ घर भई मरुटोल बस्ने अमरनाथ गुप्ता (४६) रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले ३४ लाख ६५ हजार ५०५ रूपैयाँ र ९ वटा मोबाइल बरामद गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको ईन्द्रचोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाटलगायतका स्थानबाट नगद कारोबार गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
महाशाखाका अनुसार उनीहरूले फुटबल खेलमा अनलाइनमार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाएर हारजित हुने र आफूले लाभ लिने उद्देश्यले सट्टाबाजी गराई खेल खेलाउने गरेका थिए ।
उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम कसूरमा सजाय हुने गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाको भनाइ छ ।
विभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको रकम आईएमईबाट पठाउने र लिने गरी कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।