३० जेठ २०८३, शनिबार

घरपालुवा बाख्रीले चपायो ६६ हजार भारु, मालिक रिसाएनन्

कात्तिक २०, २०७४
घरपालुवा बाख्रीले चपायो ६६ हजार भारु, मालिक रिसाएनन्

घरपालुवा जनावरलाई सबैले माया गर्छन् र आफ्नो परिवारको सदस्य झैं व्यवहार गर्छन् । तर यी जनावरले कहिलेकाहीँ नोक्सान पनि गरिदिन्छन् ।


भारतको उत्तर प्रदेशमा एक भोको बाख्रीले यस्तै हानि गरिदियो । कन्नौजको एक गाउँमा बाख्रीले मालिकको ६६ हजार भारु चपाइदियो । बाख्रीलाई भोक लागेपछि मालिक किसान सर्वेश कुमारको प्यान्टको गोजीमा रहेको रुपैयाँ चपाइदिएछ ।

सर्वेशसँग दुई हजारका नयाँ नोट रहेछन् । उनले यी पैसाहरू घर निर्माणका लागि इँटा किन्न जम्मा गरेका थिए ।

बाख्रीमा नजर पर्दा सर्वेश झसंग भए किनकि बाख्री मजाले नोट चपाइरहेको थियो । उनले बाख्रीलाई रोक्ने कोशिश गरेको भएपनि त्यतिखेर ३१ वटा नोट ध्वस्त भइसकेको थियो । दुईवटा नोट मात्र साबुत रह्यो ।

बाख्रीले नोट चपाएको खबर गाउँमा तत्कालै फैलियो । गाउँलेहरू बाख्री हेर्न आए र उससँग सेल्फी खिच्न थाले ।

केहीले पशु चिकित्सककहाँ गएर बाख्रीलाई उल्टी गराउने औषधि दिए हुन्छ भन्न थाले । यसो गर्दा नोट निस्कन्छ र जोडजाड पारेर काम चलाउन सकिन्छ भन्ने उनीहरूको तर्क थियो ।

अरूले चाहिँ बाख्री कसाईलाई बेचे हुन्छ भन्न थाले किनकि बाख्रीले घरमा दुर्भाग्य ल्यायो भन्ने उनीहरूको जिकिर थियो । एक छिमेकीले त बाख्री अपराधी भएकाले प्रहरीलाई सुम्पिनुपर्छ समेत भने ।

तर सर्वेश र उनी पत्नीले घरपालुवा जनावरप्रति क्रूरता देखाउन नसक्ने, यो त आफ्नो सन्तान जस्तै हो भने ।
कागज खाने बानी लागेको बाख्रीलाई यसरी मालिकले बचाए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्