
बुटवल उपमहानगरपाकिाले उपमहानगरका विभिन्न वडाका विपन्न परिवारका लागि व्यावसायिक बाख्रापालनमा आकर्षित गर्न निःशुल्क बाख्रा वितरण गरेको छ ।
विपन्न समुदायलाई आयआर्जनमा जोड्ने, स्वरोजगार र उद्यमी बनाउने उद्देश्यले प्रतिपरिवार ५ वटा बाख्रा र त्यसका लागि खोर बनाउन प्रतिपरिवार १५ हजारका दरले उपलव्ध गराइएको हो ।
सो अवसरमा उपमहानगरका प्रमुख शिवराज सुवेदीले कृषिमा आकर्षण बढाउने, कृषिलाई व्यावसायिक बनाउन र साना–साना कामबाटै उद्यमी बन्ने बाटो देखाउने उद्देश्यले यसप्रकारको कार्यक्रम गरिएको बताए ।
प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी तथा पशुपन्छी विकास शाखाका झविन्द्र बञ्जाडेले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत विपन्न परिवारलाई प्रतिपरिवार ५ वटाका दरले बाख्राका माउ र पाठापाठी प्रदान गरेका थिए ।
उपमहानगरको चालू आवको कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश सरकारको सहकार्यमा साना किसानलाई बाख्रापालन गर्ने र त्यसलाई व्यावसायिक बनाउन टेवा पुग्नुका साथै किसानमा हौसला बढ्ने प्रमुख सुवेदीको विश्वास छ ।
प्रतिपरिवार ५ वटाका दरले स्थानीय जातका बाख्रा उपलब्ध भएपछि बुटवल–१३ की प्रेमकली गुरुङ, सोही वडाका धनबहादुर गुरुङ, कृष्णबहादुर थापा, धनमाया गुरुङ, कृष्णबहादुर विक, वडा नम्बर १६ का परशुराम थारु, धनमाया नेपाली, केशमाया जैशी लगायतलाई व्यावसायिक बाख्रापालनका लागि भन्दै माउ र पाठापाठी वितरण गरिएको छ ।
निःशुल्क बाख्रा र पालनका लागि खोर बनाउन समेत रकम पाएपछि औधी खुशी लागेको बताउँदै बुटवल–१३ का किसान मिलन थापाले व्यावसायिक रूपमा पालन गर्ने हौसला पाएको बताए ।
बाख्रापालनका लागि खोर बनाउन किसानलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले समेत रकम प्रदान गरिएको थियो ।
बुटवल–१३, १६, १७ र १९ का अति १९ विपन्न समुदायका १९ घरपरिवारलाई टोल विकास संस्थामार्फत छनौट गरेर आयआर्जनमा टेवा पुर्याउने र स्वरोजगार गराउने भन्दै बाख्रा वितरण गरिएको कार्यक्रम संयोजक मधुकला कुवँरले बताइन् ।