०८ असार २०८३, सोमबार

तनहुँका अधिकांश ग्रामीण सडक अवरुद्ध

असार २१, २०७८
तनहुँका अधिकांश ग्रामीण सडक अवरुद्ध
फाइल फोटो

गत मंगलवारदेखि परेको वर्षाका कारण तनहुँका अधिकांश स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका छन् ।

पृथ्वी राजमार्गस्थित मुख्य सडक पुनः सञ्चालन भए पनि ग्रामीण भेगका सडक सञ्चालन हुन सकेका छैनन् । 

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पहिरोले अवरुद्ध भएका ग्रामीण सडक पुनः सञ्चालन गराउन प्रयास भइरहेको छ ।

बाढीपहिराले कतिपय ठाउँमा सडक भासिएको छ । त्यस्ता ठाउँमा सडक वारपार गर्न समस्या भएको छ । कतिपय ठाउँमा भने पैदलयात्री समेत हिँड्न नमिल्ने गरी पहिरो खसेको छ । 

शुक्लागण्डकी नगरपालिकाले ग्रामीण भेगका अवरुद्ध सडक खुलाउन शुरू गरेको छ । तनहुँ र स्याङ्जा जोड्ने ढोरबाराही मोटरमार्गको पहिरो हटाएर सडक सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।

‘मान्द्रेदेखि छाब्दीखण्डमा पहिराको जोखिम कायमै छ, त्यहाँ सडकको ट्रयाक नै नरहने गरी क्षति पुगेको छ,’ उनले भने । 

शुक्लागण्डकीअन्तर्गत दुलेगौंडा–हर्कपुर, लालध्वज, दुलेगौंडा फिरफिरे, ढोरबाराही लगायतका मुख्य मार्गमा पहिराले क्षति पुगेको छ । ग्रामीण भेगका सडक खुलाउन समस्या परेको सुवेदीले बताए ।

घिरिङ गाउँपालिकाका ग्रामीण सडक पनि पहिराले अवरुद्ध छन् । पहिरो हटाएर मुख्य–मुख्य सडक सञ्चालन गर्न शुरू गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए ।

‘वर्षा रोकिएको छैन, अहिले हटायो फेरि पहिरो खस्छ,’ उनले भने, ‘तत्काल आवश्यक सडकको मात्र पहिरो हटाउन शुरू गरेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्