
चीनका राष्ट्रपति सी चिनपिङले चिनियाँ जनमुक्ति सेनाका कमान्डर सु छिलिङलाई बढुवा गरेर जनरलको दर्जा दिएका छन् ।
सु जनमुक्ति सेनाको पश्चिमी थिएटर कमान्डका कमान्डर हुन् । उक्त थिएटरले भारतसँगको सीमालाई निगरानी गर्ने गरेको छ ।
जनमुक्ति सेनाको उच्चतम कमान्ड सेन्ट्रल मिलिटरी कमिसनका अध्यक्ष समेत रहेका सीले ५८ वर्षीय सुलाई जनरल बनाएका हुन् । उक्त दर्जा चीनमा सक्रिय सैनिकको सबभन्दा ठूलो दर्जा हो ।
त्यसैगरी दक्षिणी थिएटर कमान्डका वाङ स्युबिन, पीएलए आर्मीका कमान्डर ल्यु चनली र पीएलए स्ट्राटेजिक सपोर्ट (मिसाइल) फोर्सका कमान्डर जु छियानशङलाई पनि जनरलमा बढुवा गरिएको छ ।
सीले यी सबै सैन्य अधिकारीहरूलाई सोमवार दर्ज्यानी प्रमाणपत्र दिएका हुन् ।
पीएलएमा उदाउँदो ताराका रूपमा हेरिएका सु जनरलमा बढुवा हुने सबभन्दा कान्छा सैनिकमध्ये एक हुन् ।
पूर्वी लद्दाखमा पोहोर सालदेखि चीन र भारतका सैनिकहरू कतिपय ठाउँमा आमनेसामनेको स्थितिमा छन् । उक्त स्थान चीनको पश्चिमी थिएटर कमान्डमा पर्छ ।