
संखुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ ।
लगातारको वर्षासँगै आएको पहिरोका कारण उत्तर दक्षिण सडक खण्ड ३ दिनदेखि अवरुद्ध भएको हो ।
उत्तर दक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को हेनाङनामा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिए ।
पहिरोका कारण शनिवारदेखि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सो सडकखण्ड अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन सोमवार एउटा स्काभेटरबाट काम भइरहेको इञ्जिनीयर गौतमकुमार श्रेष्ठले बताए ।
थप पहिरो नआए अवरुद्ध सडक बुधवार पुनः सञ्चालन हुने उनको भनाइ छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको नुमसम्म मात्रै चलेका छन् ।
सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ ।