
कोभिड-१९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ ।
सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलवार दोस्रो डोज लगाउन सूचना जारी गरेको थियो । तर, खोप केन्द्रमा लाइन बस्न पुगेका कयौं ज्येष्ठ नागरिकले खोप नलगाई फर्कनु प¥यो ।
काठमाडौं उपत्यकाका निजामती अस्पताल, प्रसूति गृह, वीर अस्पताल, टेकुलगायत १३ स्थानमा काठमाडौं महानगरपालिकाले खोप केन्द्र तोकेको थियो ।
खोप लगाउन बिहानैदेखि लाइन बस्न पुगेका ज्येष्ठ नागरिकहरू दिउँसोसम्म पनि खोप लगाउन नपाएपछि सरकारको व्यवस्थापनदेखि आक्रोशित बने । उनीहरूले सरकारले सही सूचना नदिएका कारण आफूहरूले दुःख पाएको बताए ।
मीनभवनका उपेन्द्र पौडेलले बिहान ६ बजेदेखि लाइन बसेर २ बजे सम्म पनि खोप लगाउन पाएनन् । खोप लगाउने विषयमा सरकारले खेलबाड गरेको र जनताको अभिभावकको भूमिका निर्वाह गर्न नसकेको उनले बताए ।
‘प्रेसर सुगर भएका मान्छेहरू बाटोमै लडे, यो सरकारको नालायकीपन हो,’ उनले भने, ‘बाटोमै लडेका ज्येष्ठ नागरिकको जिम्मेवारी कसले लिन्छ ?’
बानेश्वरका तेजबहादुर दाहाल पनि बिहान ६ बजे निजामती अस्पताल खोप केन्द्रमा लाइन बसे । तर, खोप लगाउन पाएनन् ।
‘ज्येष्ठ नागरिक भनेपछि त्यहीअनुसारको सम्मान दिएर कुपनको व्यवस्था गरेर यतिजना भोलि आऊ यतिजनालाई आज दिन्छु भनेर त्यो व्यवस्था गर्नुपर्ने हो,’ उनले भने, ‘हामीलाई भोलिका लागि कुपन भनेर दिएको भए भोलि आइहाल्थ्यौं नि !’
आलोकनगर टोल सुधार समिति अध्यक्षसमेत रहेका डीआर पोख्रेल बिहान ३ बजे देखि खोप लगाउन लाइन बसेको बताउँछन् । तर, उनले पनि दिउँसोसम्म खोप लगाउन पाएनन् ।
बिहानदेखि लाइन बसे पनि खोप केन्द्रले दिउँसो मंगलवार जम्मा ५०० लाई मात्रै खोप लगाउने सूचना निकालेपछि उनको धैर्यता टुट्यो । सरकारलाई बोलेर नभई काम गरेर देखाउन र जनतामा भ्रम छर्ने काम बन्द गर्न उनले अनुरोध गरे ।
‘जनतालाई भेडाबाख्रा सम्झिने ? सूचना निकाल्देर पन्छिन पाइन्छ सरकारले ? लाइनमा ३–४ हजार जनता छन् अहिले बाँड्ने बेलामा बढीमा ५०० बाँड्ने रे !,’ उनले भने।