काठमाडौं, २३ जेठ- राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित प्रधानमन्त्रीसँगै शपथ गरेका नवनियुक्त मन्त्रीहरूले मंगलबार नै सिंहदरबार पुगेर पदभार ग्रहणसँगै आफ्ना पहिलो प्रतिबद्धतासमेत जनाए, राजधानी दैनिकमा टेनिस रोकाले खबर लेखेका छन् ।

केही नयाँबाहेक धेरै पुरानै अनुहार दोहोरिएका मन्त्रीहरूले मन्त्रालयगत कामको योजना र प्रतिबद्धता जनाए । शपथग्रहणसँगै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व सम्हालेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए ।मन्त्री महराले मन्त्रालयका कर्मचारीहरूलाई राष्ट्रिय स्वाधीनतालाई प्राथमिकता राखेर छिमेकी र अन्य विदेशी राष्ट्रहरूसँग मित्रवत् व्यवहार गर्न निर्देशन दिएका थिए ।
एक महिनाअघि मात्र उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री बनेर पुनः सरकार परितर्वनपछि पनि उही मन्त्रालय सम्हालेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले शपथग्रहणपछि सिंहदरबार पुगेर एक महिनामा नै दोस्रोपटक पदभार ग्रहण गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा वैशाख २६ गते उपप्रधानमन्त्रीसहित सोही मन्त्रालयमा पदभार ग्रहण गरेका गच्छदारले मंगलबार शेरबहादुर देउवा नेतृत्वको सरकारमा पुनः उही मन्त्रालयमा कार्यभार सम्हाले ।
पदभार ग्रहण गर्दै उनले संविधान कार्यान्वयनको पहिलो खुड्किलोमा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको भन्दै दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र संघीय संसद्को निर्वाचनपछि पूर्ण रूपमा संविधान कार्यान्वयनमा लाग्ने प्रतिबद्धतासमेत जनाए ।
गच्छदारले पदभार ग्रहणपछि स्थानीय तहको निर्णय प्रमाणीकरणसम्बन्धी व्यवस्थाको फाइलमा हस्ताक्षर पनि गरेका थिए ।अर्का उपप्रधानसमेत रहेका शिक्षामन्त्री गोपालमान श्रेष्ठले पनि मंगलबार नै शपथग्रहणलगत्तै पदबहाली गरे । उनले पदबहालीलगत्तै मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा सहभागी भएर आफू सही र सत्य कुरा सबैको सुन्ने भन्दै शिक्षाको विकासमा लाग्ने प्रतिबद्धता जनाए ।
मन्त्री श्रेष्ठले पद बहालीपछि सुरक्षित विद्यालय नीति २०७४ को मस्यौदालाई अन्तिम रूप दिन सहसचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गर्ने प्रस्तावलाई स्वीकृत गरेका थिए ।
अघिल्लो सरकारमा ऊर्जा मन्त्रालय सम्हालेर कार्यसम्पादनका कारण प्रशंसा बटुलेका माओवादी नेता जनार्दन शर्माले पनि राष्ट्रपति निवासबाट शपथग्रहण गरेसँगै गृह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका थिए । आफ्ना योजना चाँडै ल्याउने बताएका उनले सुरक्षा निकायलाई जथाभावी वक्तव्यबाजी नगर्न र अनावश्यक अन्तर्वार्ता नदिन निर्देशन दिएका थिए । उनले गृह मन्त्रालय र प्रहरी प्रशासनलाई जनताले चाहेको जस्तो बनाउने प्रतिबद्धता पनि जनाएका थिए । नवनियुक्त गृहमन्त्री शर्माले सुरक्षा संगठनमा देखिएका समस्या निराकरण गर्न सिपाही समेतको सुझाव लिएर आवश्यक नीति निर्माण र आवश्यक पुनःसंरचना गरिनेसमेत बताए ।
कांग्रेसबाट थुप्रै आकांक्षीलाई पछि पार्दै अर्थमन्त्री बनेका ज्ञानेन्द्रबहादुर कार्कीले पदबहालीलगत्तै मुलुकको आर्थिक वृद्धि हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । जनतालाई प्रत्यक्ष लाभ हुने काम गर्नेसमेत उनको प्रतिबद्धता छ ।
श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले वैदेशिक रोजगारको क्षेत्रका देखिएका समस्यालाई चाँडो समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
मन्त्रालयमा पदबहाली गर्दै नवनियुक्त मन्त्री मन्सुरले खाडी मुलुकको समस्या समाधानका लागि आफूले सक्ने काम आफूले गर्ने र नभए मन्त्रिपरिषद्को बैठकमा लगेर भए पनि समाधान गर्ने बताए ।
माओवादीबाट विना विभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरेका प्रभु शाह भने प्रधानमन्त्री कार्यालयमा लामै समय बिताए । मन्त्रिपरिषद् बैठक सकिएको झन्डै एक घण्टा बढी प्रधानमन्त्री कार्यालयमा नै बिताएका उनले प्रधानमन्त्री कार्यालय अगाडि नै कार्यकर्ता तथा शुभेच्छुकबाट बधाई लिएका थिए ।