०३ असार २०८३, बुधबार

अस्ट्रेलिया जाने तयारी छाडेर गाउँमै बाख्रापालन गर्दा मनग्यै आम्दानी

असार २६, २०७८
अस्ट्रेलिया जाने तयारी छाडेर गाउँमै बाख्रापालन गर्दा मनग्यै आम्दानी

आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्यै आम्दानी गर्न सफल भएका छन् ।

बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्लले पैसा कमाउनकै लागि अस्ट्रेलिया जाने तयारीलाई पन्छाएर  गाउँमा नै शुरु गरेको बाख्रापालनबाट अहिले वार्षिक १२ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् ।

उनले करीब ६ वर्ष खाडी मुलुकमा बिताएर ३ वर्ष अघि स्वदेश फर्किए । शुरूमा अस्ट्रेलिया जाने सोचेपनि त्यसलाई त्यागेर यही बाख्रापालन थाले ।

बुवाले रहरले पालेका स्थानीय जातका बाख्रामा मल्लको ध्यान गयो । अहिले भने बोयर जातका बाख्रापालन गरे । 

‘विदेश जाने सोच त्यागेर बाख्रापालन गरेको छु, जेठसम्म १२ लाख रुपैयाँका बोका बिक्री गरेर  त्यसलाई बाख्रापालनमा नै थपेको छु,’ मल्लले भने ।

करीब ११ लाख रुपैयाँबाट शुरू भएको व्यवसायमा लगानी ३० लाख रुपैयाँ पुगेको छ । खोरमा अहिले २८ वटा बोएर छन् । ठूलो क्षेत्रफलमा उन्नतजातको घाँस समेत लगाइएको छ । बाख्रा र बोका बिक्रीबाट वार्षिक  २० लाख रुपैयाँसम्म कमाइ गर्ने लक्ष्य छ । उनको फार्ममा ३ लाख रुपैयाँसम्म पर्ने बोयर बोका छन् ।

‘यहाँको कमाइले म पूर्णरूपमा सन्तुष्ट छु, आम्दानीलाई दोब्बर बनाउने गरी थप खोर विस्तार गर्दैछु,’ नेपाल व्यावसायिक बाख्रापालन महासंघ म्याग्दीका अध्यक्ष समेत रहेका मल्लले भने ।

अस्ट्रेलियाबाट आयात गरिएको बोयर जातको बोका र एक माउबाट शुरू भएको बाख्रापालन यसै वर्ष ५० पुर्‍याउने लक्ष्य छ । थप बोयर मगाइएको छ । खोरमा १ वर्षमा दोब्बर हुने गरी माउ राखिएको छ ।  

मल्लले युवा पुस्तालाई बाख्रापालनमा सक्रि बनाउन आवश्यक प्राविधिक सहयोग समेत गर्ने बताए । कृष्ण बहुउद्देश्य कृषि तथा पशुपालन फार्म दर्ता गरेर मासुको प्रयोजनका लागि नभइ शुद्व बोयर एवं स्थानीय खरी जातको बाख्रालाई बोयर बोका दिएर नस्ल सुधार गर्दै उन्नतजातका पाठापाठी बिक्री गरी कृषकलाई बाख्रापालन व्यवसायमा प्रेरित गर्ने योजना मल्लको रहेको छ । 

छिमेकीको बाँझो जमिन भाँडामा लिएर घाँस खेती समेत विस्तार गरिएको छ । बेनपा–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले वडालाई कृषि र पशुपालनमा पकेट क्षेत्रको रूपमा विकास गर्ने ध्येयले पशुपालक कृषकलाई आवश्यक सहयोग गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्