
पार्टी विवाद समाधानमा सहमति गरेको दाबी गरेको कार्यदलले सहमतिलाई अन्तिम रुप दिने कुरालाई आइतवारसम्मको भाका सारेको छ । शुक्रवार बसेको कार्यदल बैठकले सहमति गरेको र शनिवार भाषा मिलाएर सार्वजनिक गर्ने बताएको थियो ।
शनिवार साँझ बसेको कार्यदल बैठकले सहमतिलाई आइतवार अन्तिम रुप दिने निर्णय गरेको छ । एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले सहमतिको अन्तिम अन्तिम अवस्थामा आएको र आइतवार सकारात्मक सन्देश प्रवाह गर्ने जानकारी दिए ।
झण्डै ८ घण्टा लामो शुक्रवारको बैठकपछि पार्टी प्रवक्ता समेत रहेका कार्यदल सदस्य प्रदीप ज्ञवालीले भाषा मिलाएर आज अन्तिम रुप दिइने बताएका थिए । शनिवारको बैठकमा भाषाको विषयमै छलफल भएको थियो ।
‘हामी सहमतिका लागि अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौँ, लगभग समस्यालाई समाधान खोज्ने विन्दुमा आएका छौं । आजको दिनमै सुखद समाचार घोषणा गर्न सकेका छैनौं,’ शनिवारको बैठकपछि विष्टले भने, ‘भोलिको दिन एकताको सन्देश सुन्न आतुर कार्यकर्तालाई आइतवार सकारात्मक सन्देश दिन्छौँ । औपचारिक दिने काम मात्र बाँकी छ ।’
पार्टीलाई एकताबद्ध गर्न दुवै पक्षले इमान्दारी प्रयत्न गरेको बताए । विष्टले सर्वोच्चको आदेश अगावै एमाले सहमतिको घोषणा हुने विष्टले बताए । कार्यदलको बैठक अघि नेपाल पक्षले नेता नेपालसँग परामर्श गरेका थिए ।
पार्टीभित्रको विवाद समाधानको जिम्मा पाएको कार्यदलले सोमवारदेखि काम गरेको थियो । पार्टी विवाद हल गर्न भन्दै जेठ २ गते संस्थापन पक्षबाट सुवास नेम्वाङ संयोजक रहनेगरी उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र विष्णु रिमाल सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।
माधव नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा गठित कार्यदलमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् । कार्यदलमा सहमति भएपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र माधव नेपालले सहमतिमा हस्ताक्षर गर्ने कार्यदलका सदस्यले बताएका छन् ।