
बाँकेमा रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ परेका छन् ।
बाँके प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-१, पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसबाट रेडपाण्डाको छाला एक थान र भालुको पित्त जस्तो देखिने चारवटा वस्तुसहित उनीहरूलाई शनिवार पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका-४ का ४९ वर्षीय भक्तबहादुर पुन, सोही ठाउँका ४१ वर्षीय केशव पुन र दाङ शान्तिनगर गाउँपालिका-१ का २९ वर्षीय रोबिन बुढा रहेका छन् ।
उक्त गेष्टहाउसमा संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
छाला र पित्त झोलामा लुकाइरहेको अवस्थामा बरामद् गरिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।