०८ असार २०८३, सोमबार

वामदेवले सदनमा गरे बजेटको प्रशंसा, राष्ट्रिय सभामा पेश गर्ने व्यवस्था गर्न माग

वामदेवले सदनमा गरे बजेटको प्रशंसा, राष्ट्रिय सभामा पेश गर्ने व्यवस्था गर्न माग
फाइल फोटो

नेकपा एमालेका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको बजेटको सदनमा प्रशंसा गरेका छन् ।

उनले राष्ट्रिय सभा नियमावली संशोधन गरेर भएपनि राष्ट्रिय सभामा बजेट पेश गर्ने व्यवस्था गर्न माग गरेका हुन् । 

मंगलवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा गौतमले आम निर्वाचनपछि पहिलोपटक राम्रो बजेट आएको बताए । 

‘बजेटको सम्बन्धमा केही भन्नैपर्ने भएको छ । कमरेड विष्णु पौडेलले बजेट पेश गर्दा म धेरै खुशी भएँ । मैले गएका तीनवटा बजेट देखेको छु, जुन कहिल्यै घोषणा पत्रबमोजिम आएन । पार्टीभित्र लेखेर र बोलेर पनि आवाज उठाएँ । घोषणा पत्रको आधारमा चल्छौं कि मनमौजी चल्छौं ? घोषणा पत्र लेखनमा समय लगाउनु नपरेको भए चुनाव जितेर आउँथें,’ गौतमले भने ।  

पूर्व अर्थमन्त्री युवराज खतिवडाले सामाजिक सुधारसँग सम्बन्धित केही काम नगरेको आरोप उनले लगाए ।

‘पहिलोपटक बजेट पेश गर्दा एकपटक पनि ताली बजेन’ गौतमले भने । यति भन्दै गर्दा गौतमले पाएको १५ मिनेटको समय सकियो । 

त्यसअघि गौतमले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बीचमा रहेको विभेद अन्त्य गर्न आफूले प्रधानमन्त्री ओलीसँग विगतमा प्रस्ताव गरेको बताएका थिए । 

‘संसारमा हाम्रो देशमा मात्र राष्ट्रिय सभाका सदस्यले शासन गर्न पर्दैन भनेर बेलायतको भद्दा नक्कल गरियो,’ गौतमले भने, ‘संविधान संशोधनको कुरा गर्दा मेरो धेरै चरित्र हत्या भयो ।’ 

गौतमले कोठाभित्र प्रस्तुत गरेको बजेट वक्तव्य फेरि राष्ट्रिय सभामा प्रस्तुत गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

‘नियमावलीमा छैन भने व्यवस्था गरौं । राष्ट्रिय सभा संघीय संसद्को अंग भएकाले छलफल गर्न सकिन्छ, यो मेरो माग हो,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्