३१ असार २०८३, बुधबार

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

कार्यदल स्तरमा हुने भनिएको सहमतिमा हस्ताक्षर नहुँदै अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठक अपराह्न ४ बजे बस्ने गरी बोलाइएको एमाले सचिव पृथ्वीसुब्बा गुरुङले लोकान्तरलाई जानकारी दिए ।

कार्यदल स्तरमा सहमतिमा हस्ताक्षर नहुँदै बैठक बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

एमाले कार्यदलको बैठक सिंहदरबारमा झण्डै ६ घण्टादेखि जारी छ । 

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतवार बिहान सवा ९ बजेदेखि कार्यदलको बैठक बसिरहेको हो । 

कार्यदलमा भएको सहमतिलाई भाषिक रूपमा मिलाएर हस्ताक्षर गरिने कार्यदलका सदस्यहरूले बताएका छन् । 

बैठकमा प्रवेश गर्नुअघि कार्यदलका एकजना संयोजक सुवास नेम्वाङले बिहान नै हस्ताक्षर गरिने बताएका थिए । 

कार्यदलमा सहमति गरेर स्थायी कमिटीबाट अनुमोदन गर्ने भन्दै बिहानका लागि कार्यदलको बैठक राखिएको थियो । 

कार्यदलको बैठकअघि माधव नेपाल पक्षका सदस्यहरूले नेता नेपालसँग परामर्श गरेका थिए ।

कार्यदलका सदस्यहरूले माधव नेपाललाई भेटेपछि हस्ताक्षरमा ढिलाइ भएको भन्दै संस्थापन पक्षका नेताहरूले आशंका व्यक्त गरेका छन् । 

नेता नेपालले अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा प्रभावित गर्ने गरी कुनै सम्झौता नगर्ने अडान लिएको स्रोतको भनाइ छ । 

कार्यदलले अदालती मुद्दा प्रभावित नहुनेगरी सहमतिको मस्यौदा गरेको कार्यदलका एक सदस्यले जानकारी दिए । 

६ दिन लामो छलफल पछि कार्यदल पार्टीमा देखिएको विवाद समाधान गर्न सफल भएको सदस्यहरूले बताएका छन् । 

बैठकमा प्रवेश गर्नुअघि नेताहरूले आजै हस्ताक्षर गर्ने बताएका थिए ।

कार्यदलका सदस्य गोकर्ण विष्टले आइतवार बिहान पार्टी कार्यकर्तालाई सकारात्मक सन्देश दिने बताएका थिए । 

कार्यदलमा भएको सहमति पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई बुझाइने एक सदस्यले जानकारी दिए । 

पार्टी विवाद मिलाउन संस्थापन पक्षबाट नेम्वाङ र माधव नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा जेठ २ गते पाँच–पाँच जना सदस्य रहने गरी कार्यदल गठन गरिएको थियो । 

कार्यदलमा सहमति भएसँगै ५ महिना लामो एमाले विवाद टुंगिने अपेक्षा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्