१० साउन २०८३, आइतबार

अझै ५ सचिवको पद रिक्त, बढुवाका लागि दिनदिनै सिफारिश समितिको बैठक

असार २७, २०७८
अझै ५ सचिवको पद रिक्त, बढुवाका लागि दिनदिनै सिफारिश समितिको बैठक

मुलुकमा हाल ५ सचिवको पद रिक्त छ ।

यही असार महिनासम्ममा रिक्त भएका १० पदमा ५ वटा पदपूर्ति भएको र ५ वटा बाँकी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रशासन सेवा अन्तर्गत ५ र इञ्जिनीयरिङ सेवाअन्तर्गत ५ गरी कुल १० वटा पद रिक्त भएको थियो । त्यसमध्ये प्रशासनतर्फ दामोदर रेग्मी, गणेश पाण्डे र कृष्णहरि पुस्कर सचिवमा बढुवा भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार बढुवा भएका उक्त तीनजना सचिवमध्ये दुई जनाको पदस्थापना भइसकेको छ भने एक जनाको पदस्थापन हुन बाँकी छ ।

गणेश पाण्डेलाई कर्णाली प्रदेशको प्रमुख सचिवको रुपमा र  दामोदर रेग्मीलाई गण्डकी प्रदेशको प्रमुख सचिवको रूपमा पदस्थापना भएकोमा उनीहरू दुवै जना त्यहाँ हाजिर समेत भइसकेका छन्। तर, सचिवमा बढुवा भएका कृष्णहरि पुष्करको भने अहिलेसम्म पदस्थापन भएको छैन।

त्यसैगरी इन्जिनियरिङतर्फका कृष्ण आचार्यलाई कृषि मन्त्रालयमा र प्रमिला देवी शाक्य बज्राचार्यलाई खानेपानी मन्त्रालयमा पदस्थापना गरिएको छ ।

प्रशासनतर्फ २ जना र इन्जिनियरिङतर्फ २ जना गरी कुल पाँच जनाको बढुवा हुन बाँकी छ ।

लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने बढुवा समितिको सिफारिशमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवाका लागि मन्त्रालयमा प्रस्ताव लैजाने गर्छ ।

त्यसपछि मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय पारित भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदस्थापन गर्ने गर्छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता अधिकारीका अनुसार रिक्त रहेका पाँच पदको सिफारिशका लागि प्रत्येक दिन सिफारिश समितिको बैठक बसिरहेको छ।

'एउटा पदमा सिफारिश गर्नका लागि कम्तिमा दुईवटा बैठक बस्नुपर्ने हुन्छ,' अधिकारीले लोकान्तरसँग भने, 'ती बाँकी पाँचवटा पदमा पनि आज भोलि गरेर क्रमशः सिफारिस भई मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगिनेछ ।'

salt training

कमेन्ट गर्नुहोस्