
काठमाडौं, २५ जेठ - प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरु पदभार ग्रहण गर्ने वित्तिकै जोखाना हेराउन स्वामीको शरणमा पुगेका छन् । सन्त कृष्णदास जी महाराजसँग देउवासहित मन्त्रीहरु जोखाना हेराउन पुगेका हुन् ।
कृष्णदासले आफ्नो फेसबुक मार्फत प्रधानमन्त्री तथा मन्त्रीहरुको फोटो सार्वजनिक गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पनि उनले प्रचण्डलाई भैंसी पूजा गराएका थिए ।
देउवा मंगलवार प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले बुधबार शपथग्रहण गरेर कार्यभार सम्हालेका थिए ।
प्रधानमन्त्री देउवासँग उनकी पत्नी आरजु देउवा पनि थिइन् । तस्बिरमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा सन्तलाई प्रणाम गरेको अवस्थामा देखिन्छन् ।

अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि सन्तसँग आशिर्वाद लिन पुगेका थिए ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि सन्तसँग आशिर्वाद लिन पुगेका थिए ।

सन्त कृष्णदास जीका अनुसार प्रधानमन्त्री देउवा र अर्थमन्त्री कार्कीको तस्बिर नयाँ हो ।

महरा र गच्छदारको तस्बिर पुराना हुन् । सन्तले यी ठूला नेताहरु बेला बेलामा आफूकहाँ आशिर्वाद लिन आउने बताएका छन् ।

बुधवार प्रकाशित भएको जनआस्था साप्ताहिकले पनि देउवाले ज्योतिषकोमा जोखाना हेराएको कुरा उल्लेख गरेको थियो । सन्तले आज फोटोहरु सार्वजनिक गरेका हुन् ।
यस्तो लेखेको थियो जनआस्थाले समाचारगहिरिएर पढ्नुभयो भने तीन दलबीच सोमबार भएको चार बुँदे सहमतिमा दुई त्यस्ता बुँदा परेका छन्, जसले हिजो मंगलबारभित्र शेरबहादुर देउवालाई चौथोचोटि प्रधानमन्त्री नबनी नहुने बाध्यता झल्काउँछ । त्यो हो, ज्योतिषीले दिएको सल्लाह । उनी लोकतन्त्र, धामी–झाँकी, जोखनामा अति नै विश्वास गर्ने । बाल्टिनबाबा, कालिबाबा, पाइलटबाबाहरुसँग संगत छुटेको छैन ।
दशै औंलामा औँठी लगाएको पनि देखाएकै हो । भनिएको के रहेछ भने, असार १५ गुज्रियो भने मुस्किल छ । जेठ भित्रै भए राम्रो । नत्र, अप्ठेरो पर्छ । त्यसकारण देउवा दोस्रो चरणको चुनावसम्म पनि पर्खन नसक्ने अवस्थामा पुगेका रहेछन् । दोस्रो चरणको चुनाव मध्यअसारमा हुँदैछ । झरी–बाढी, पहिरोका कारण खोलानाला बढ्ने, मतदान केन्द्र असुरक्षित हुने, मतपेटिका ओसार्न पनि गाह्रो हुने बेला हो यो ।
उनलाई अंगिरश न्यौपाने, सन्तोष बाशिष्ट, जगतगुरु आचार्य वीरेन्द्रहरुले जसरी पनि २४ गते नकटाउनु भनेका हुन् । देउवाले विश्वस्तहरुलाई १९ देखि २३ सम्म उपत्यका बाहिर नजानु भनेका थिए । ज्योतिषहरुलाई बूढानीलकण्ठ बोलाएर जन्मकुण्डली देखाउँथे । चिना हेराउने काम वैशाखदेखि नै तीव्र गतिमा अघि बढेको हो । कहिले आरजु, कहिले आफैं चिना फिँजाउन कस्सिन्थे ।
यसरी धेरै दुःखले हुन लागेको प्रधानमन्त्री संसदको गतिरोधका कारण मात्र अड्किने भएपछि सोमबार एमालेसहितका दलबीच सहमति भएको बताइन्छ । जसमा ‘निर्वाचनसम्बन्धी विगतमा भएका कमी–कमजोरी सच्याउँदै अघि बढ्ने’ भनिएको छ । यसको मतलब कमी–कमजोरी भएका रहेछन्, त्यसलाई काँग्रेस–माओवादीले स्वीकारेको प्रमाण हो यो । अर्को बुँदामा छ, ‘आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गराउने ।’
यसले पनि के भन्छ भने, विगतमा गड्बडी भएकै हो । सँगसँगै चुनावको प्रतिवद्धता दोहोर्याइएको छ । असार १४ को गराएरै छाड्ने, माघ ४ भित्र प्रदेश र केन्द्रीय संसदको चुनाव पनि गराएरै छोड्ने प्रतिवद्धतासहित सहमतिपत्र तयार भएको छ । आउने निर्वाचनमा अनियमितता नहुने कुराको सुनिश्चितता पनि पोखिएको छ ।