अफगानिस्तानबाट अमेरिकी सैनिकहरू निस्केपछि तालिबानले लगातार नयाँ नयाँ इलाका कब्जा गरिरहेको छ ।
तालिबानले देशको मध्यमा रहेको शहर गजनी पनि घेरेको छ । नागरिकहरूको घरमा अड्डा जमाएर तालिबान लडाकूहरूले अफगान सैनिकहरूमाथि गोली बर्साइरहेका छन् ।
यसैबीच अफगानिस्तानमा तालिबानविरुद्ध युद्धको नेतृत्व गर्ने अमेरिकी जनरल अस्टिन मिलरले सोमवार कमान्ड छोडेका छन् । यसका साथै अमेरिका र तालिबानबीचको संघर्षको सांकेतिक अन्त्य भएको छ ।
तर तालिबानल अफगानिस्तान पूरै कब्जा गर्न सजिलो छैन । सन् १९९० को दशकमा तालिबानसँग भिड्ने नर्दन अलायन्स पुनः सक्रिय भएको छ ।
हेरात प्रान्तका दिग्गज नेता इस्माइल खान ७० वर्षका भए तर तालिबानसँग भिड्ने उनको चाहना मरेको छैन । अनि नर्दन अलायन्सका उपाध्यक्ष रहेका मार्शल अब्दुल राशिद दोस्तम पनि तालिबानसँग भिड्न तयार देखिन्छन् ।
अत्ता मोहम्मद नूरले पनि तालिबानलाई सफल बन्न नदिने संकल्प गरेको बताइएको छ ।
विशेषगरी अफगानिस्तानको उत्तरी भेगमा नर्दन अलायन्सको पकड छ । त्यहाँ हजारौं लडाकूहरूले तालिबानसँग लड्ने मन बनाएका छन् ।
उज्बेक, ताजिक र हजारा समुदायका लडाकूहरू अफगानिस्तान सरकारसँग हतियार तथा बन्दोबस्तीका सामान मागिरहेका छन् ।
त्यसो त अनेकौं प्रान्तहरूमा लडाइँ चलिरहेको छ तर तालिबानले उत्तरी इलाकामा ध्यान केन्द्रित गरिरहेको छ । त्यहाँ भयंकर रक्तपात भइरहेको छ ।
तर तालिबानले काबुल सरकार ढलाउने सम्भावना प्रबल छ ।