काठमाडौं, २६ जेठ- प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई मत दिने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सत्तामा सहकार्य गर्न आग्रह गर्दैै सरकारी वार्ता टोलीसँग छलफल गरी निर्णयमा पुग्न आग्रह गरेका छन्छ ।
देउवाले गठन गरेको कांग्रेसको तीन सदस्यीय वार्ता टोलीसँग राप्रपाले छिट्टै निर्णायक वार्ता गरी सत्तामा जाने तयारी गरेको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष दीपक बोहराले कांग्रेस र राप्रपाको वार्ता टोलीबीच शनिवारसम्म निर्णायक वार्ता भई आफ्नो पार्टी देउवा सरकार सहभागी हुने जानकारी दिए, अन्नपूर्ण पोस्टमा खबर छ | ।
उनले भने, ‘एकदुई दिनभित्रै निर्णायक वार्ता गरी राप्रपा सत्तामा जान्छ । वर्तमान सरकारको पक्षमा संसद्मा मतदान गरेकाले संविधान कार्यान्वयनका लागि सत्ता साझेदारीमा सहभागी भइन्छ ।'
राप्रपाले सम्मानजनक हैसियत पाएमात्र राप्रपा सरकारमा जानुपर्छ भन्दै पार्टी अध्यक्ष कमल थापा, नेता दिलनाथ गिरीलगायतले अडान लिइरहका छन् । उनीहरूले सत्ता नेतृत्व गर्ने कांग्रेसले आफूहरूको ३७ सिटको ग्र्याभिटीलाई सम्मान गर्नुपर्नेमा जोड दिइरहेका छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्री सहितको सम्मान पाउँदा संसद्को चौथो ठूलो दलले नपाउनुपर्ने कुनै कारण नरहेको तर्क अध्यक्ष थापा पक्षधरको छ ।
पूर्वअध्यक्ष पशुपतिशम्शेर राणा, वरिष्ठ उपाध्यक्ष बोहरालगायतका पक्ष भने सत्तामा साझेदार हुनुपर्ने अडानमा छन् । ‘सरकारमा जाने र नजाने भन्ने पार्टीमा दुई धार छ, सत्ता पक्षको वार्ता टोलीसँग निर्णायक वार्ता भएको छैन । त्यसैले सत्ता सहभागिताका विषयमा इन्कार गरिसकेका छैनौं, पाँचौ र छैटौं दलले जुन हैसियत यो सरकारमा पाइरहेका छन् । त्यसैअनुसार चौथो दलको सम्मान हुनुपर्ने माग हाम्रो हो', राप्रपा नेता दिलनाथ गिरीले भने । अध्यक्ष थापा पक्षका अर्का एक नेताले भने, ‘गच्छदार उपप्रधानमन्त्री हुँदा चौथो दलले उपप्रधानमन्त्री पाउन नहुने कारण के छ । संसद्को ३७ सिटको ग्र्याभिटीलाई सम्मान हुँदा सरकारमा जान्छौं ।'