
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश सभामा ल्याएको बजेट अप्ठ्यारोमा परेको छ ।
सदनमा बिहीवार विनियोजन विधेयक निर्णयार्थ पेश हुने भनिए पनि सत्तापक्षीय सांसदले नै बैठक बहिष्कार गरेपछि बजेट अन्योलमा परेको हो ।
विपक्षी गठबन्धनले बजेट ‘फेल’ गराउने निर्णय गरेपछि सत्तापक्षीय सांसद सभा छाडेर बाहिरिए । बजेट निर्णयार्थ प्रस्तुत हुने दिन नै सत्तापक्षीय सांसद सदन छाडेको नौलो घटना हो ।
असार १ गते ल्याएको बजेट विपक्षी गठबन्धनको निरन्तरको अवरोधपछि असार २७ गतेदेखि मात्रै छलफलमा गएको थियो । मुख्यमन्त्री शंकर पोखरेलले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएपछि निर्णयार्थ पेश गर्ने बेलामा फेरि छलफलका लागि सत्तापक्ष नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखसँग समय मागेका थिए ।
थप छलफलका लागि समय नदिएकाले बैठक छाडेर हिँडेको ढकालले बताए । प्रदेशसभा बैठक शुक्रवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
सभामुख पूर्णबहादुर घर्तीको विशेष निर्देशन अनुसार शुक्रवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको छ । ‘सभामुखले पनि समय दिनुभएन, विपक्षी पनि छलफल गर्न तयार भएनन् । त्यसपछि हामी बाहिरिएका हौं,’ ढकालले भने ।
प्रदेशसभा अंकगणितमा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन् । सत्तापक्षीय सांसद ४१ र विपक्षी पनि ४१ सांसद छन् । सत्तापक्षीय सांसद अजयबहादुर शाही बिहीवारको बैठकमा उपस्थित थिएनन् ।
संसदबाट बजेट पास हुन नसक्ने अवस्था देखिएपछि लुम्बिनी प्रदेश सरकार अध्यादेशमार्फत बजेट ल्याउने छलफलमा लागेको छ । बजेटमाथिको छलफल सकिएलगत्तै प्रदेशसभा बैठक बहिष्कार गरेको सत्तापक्षले प्रदेश प्रमुखमार्फत चालू संसद अन्त्य गराएर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ ।
प्रदेश सभामा लामो समयदेखि सरकार अल्पमतमा छ कि बहुमतमा छ भन्ने विवाद चलिरहेको छ । सत्तारुढ एमालेका सांसद विष्णु पन्थीले बजेट सत्तापक्ष र प्रतिपक्षको भन्न नहुने बताए ।
‘सरकारले प्रस्तुत गर्ने बजेट सत्तापक्ष र प्रतिपक्षको भन्ने हुँदैन, जनताको लागि प्रस्तुत भएको बजेट हो,’ उनले भने । ‘बजेट पारित गर्ने र नगर्ने विषयलाई लिएर अलमल गर्दा मुलुकको गति अवरुद्ध हुन्छ,’ उनले भने । पन्थीले अहिले बजेट पारित गराउने विषयमा छलफल भइरहेको र बजेट रोक्ने कार्य कसैका लागि समेत हितकर नहुने बताए ।
‘बजेट पारित नगर्ने कार्य सरकार प्रतिपक्षलाई मात्र होइन, जनताका लागि समेत अहितकर छ,’ पन्थीले भने ।
‘बजेट फेल भइसक्यो’
विपक्षी गठबन्धनले बजेट फेल भइसकेको भन्दै नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने जनाएको छ । सत्तापक्षले बैठक बहिष्कार गरेपछि कांग्रेस सहितको विपक्षी गठबन्धनले पत्रकार सम्मेलन गरी बजेट फेल भइसकेकाले सरकारले मार्गप्रशस्त गर्नुपर्ने माग गरेको छ ।
कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले जबरजस्ती अल्पमतको सरकार चलिरहेको बताए । ‘राजनीतिमा नैतिकता छैन सरकारलाई । हिजो पनि हामी बहुमतमा थियौं । आज पनि हामी बहुमतमा छौं । सरकारसँग बहुमत भए संसद फेस गर्न सक्थ्यो । अब राजीनामा दिनुहोस्,’ कनौडियाले भने, ‘बजेट पास गर्ने अन्तिम दिन नै संसद छाडेर हिँडेपछि राजीनामा दिनु पर्दैन ?’
माओवादी केन्द्र संसदीय दलका नेता कूलप्रसाद केसीले निर्णयार्थ पेश हुने बेलामा बहिष्कार गरेर बाहिर निस्कनु भनेको सत्ता छाड्ने बेलामा असंसदीय व्यवहार देखाएको बताए । बजेट निर्णयार्थ पेश हुने बेलामा सरकारले नै भागेपछि बजेट फेल भएको उनको भनाइ छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षीय दलका नेता सहस्रराम यादवले बजेट पास गर्ने नसक्ने सरकारले राजीनामा दिनुपर्ने बताए ।