
आर्थिक वर्ष २०७७/०७८ मा ११ खर्ब ८० अर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
शुक्रवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थ सचिव शिशिर कुमार ढुंगानाले आर्थिक वर्ष २०७७/०७ मा ११ खर्ब ८० अर्ब खर्च भएको जानकारी दिएका हुन् ।
उनले भने– ‘७७/७८ मा हामीले कुल बजेट १४ सय ७४ अर्बको सार्वजनिक गरेको थियौँ, पहिलो जेठ १५ २०७७ मा । मध्यावधि समिक्षा गर्दा त्यसलाई १२ सय ६६ अर्ब खर्च हुन्छ भन्ने संशोधित अनुमान थियो . हिजोसम्मको प्रारम्भिक अनुमान अनुसार ११ सय ८० अर्ब खर्च भएको छ । यो सुरु अनुमानको ८०.०८ प्रतिशत र संशोधित अनुमानको ९३.२० प्रतिशत हुन आउँछ ।’
अर्थमन्त्री ढुंगानाले चालु खर्चतर्फ ८ सय ५१ अर्ब खर्च भएको बताए । चालु खर्चको अनुमान ९ सय ४९ अर्ब रहेको र संशोधित अनुमान भने ८ सय ६७ अर्ब रहेको उनले जानकारी दिए ।
त्यस्तै पुँजीगत खर्च तर्फ ३ सय ५२ अर्ब रुपैयाँ विनियोजन गरिएको र संशोधित अनुमान २ सय ५१ अर्ब रुपैयाँ रहेकोमा पुँजीगत खर्चतर्फ २ सय २८ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको बताए ।
वित्तिय व्यवस्थापन अन्तर्गत कुल १ सय ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको र संशोधित अनुमान १ सय ४५ अर्ब रुपैयाँ रहेकोमा कुल एक सय अर्ब रुपैयाँ मात्र खर्च भएको उनले बताए ।
त्यसैगरी राजस्वको शुरू अनुमान १० खर्ब ११ अर्ब रुपैयाँ र संशोधित अनुमान ९ खर्ब ५९ अर्ब रहेकोमा राजश्वमा ९ सय ३८ अर्ब संकलन भएको अर्थसचिव ढुंगानाले बताए ।
त्यसमध्ये कर राजस्व ८ सय ७० अर्ब रुपैयाँ र गैरकर राजस्व ६८ अर्ब रुपैयाँ रहेको उनले बताए । त्यसबाहेक अन्य प्राप्ति मार्फत् ४० अर्ब रुपैयाँ प्राप्त गरेको पनि उनले बताए ।