०७ साउन २०८३, बिहीबार

नेपालले एसियन महिला भलिबल च्याम्पियनसिप खेल्न नपाउने, कारण- कोरोनाको नयाँ भेरियन्ट

नेपालले एसियन महिला भलिबल च्याम्पियनसिप खेल्न नपाउने, कारण- कोरोनाको नयाँ भेरियन्ट

फिलिपिन्समा भदौ १३–२० मा हुने २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले खेल्न नपाउने भएको छ । 

फिलिपिन्स सरकारले एसियन भलिबल महासंघमार्फत् नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन नसक्ने बताएपछि नेपाली भलिबल टिम खेल्नबाट वञ्चित भएको हो । 

कोभिड–१९ को नयाँ भेरियन्टको अतिसंवेदनशील क्षेत्र भएकाले सहभागी गराउन नसकिने बताएको नेपाल भलिबल संघले जनाएको छ । संघले ठूलो प्रतियोगिता र ठूला राष्ट्रसँग प्रतिस्पर्धा गरी अनुभव बटुल्ने नेपाली टोलीको चाहनामा तुसारापात भएको जनाएको छ । ‘यसले नेपाली महिला भलिबल टिमको भावनामा चोट पुग्न गएको छ,’ संघले भनेको छ, ‘नेपाली खेलाडीहरूले यति ठूलो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउनका लागि ठूलै तयारी गरिरहेको थियो ।’

साथै नेपाली महिला भलिबल खेलाडीहरूको बन्द प्रशिक्षण पनि स्थगित गरिएको संघले जनाएको छ । 

यस्तै नेपाल ट्राइयाथलन संघले जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२० मा सहभागी हुन जान लागेका संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलाई अनलाइन बैठकमार्फत् सफलताको शुभकामनासहित बिदाइ गरेको छ । अध्यक्ष श्रेष्ठ सोमवार जापानतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्