३० जेठ २०८३, शनिबार

कांग्रेस महाधिवेशन निर्धारित मितिमै गर्ने निधो

साउन २, २०७८
कांग्रेस महाधिवेशन निर्धारित मितिमै गर्ने निधो

नेपाली कांग्रेसको पदाधिकारी बैठकले निर्धारित मितिमा नै पार्टीको १४औं महाधिवेशन गर्ने निर्णय गरेको छ । 

केन्द्रीय महाधिवेशन भदौ १६–१९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ ।

महाधिवेशन निर्धारित समयमा हुने नहुने आशंका भइरहँदा पदाधिकारी बैठकले निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रवार बसेको कांग्रेस पदाधिकारी बैठकमा पार्टीको १४औं महाधिवेशन, क्रियाशील सदस्यता र समयावधिका विषयमा छलफल भएको थियो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बैठकमा निर्धारित मितिमा नै महाधिवेशन गर्नेबारे नेताहरू सहमत रहेका जानकारी दिए । उनका अनुसार बैठकमा कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिबाट भएका कामको प्रगति, समायोजन समितिबाट भएका काम र निर्वाचनसम्बन्धी निर्देशिकाका विषयमा छलफल भएको र सम्बन्धित समितिका संयोजकहरूले अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

बैठकमा सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले ७५ जिल्लाका क्रियाशील सदस्यतासम्बन्धी काम सकिएको ब्रिफिङ पार्टी नेतृत्वलाई गरे । सप्तरी र बारामा भने विवाद बढी देखिएको छ ।

लेखकले आइतबारसम्म पार्टी सभापति शेरबहादुर देउवालाई क्रियाशिल सदस्यतासम्बन्धी सूची बुझाइने जानकारी दिए । उनका अनुसार विदेशस्थित जनसम्पर्क समितिबाटसमेत गरी कांग्रेसमा ९ लाख क्रियाशील सदस्य पुगेका छन् ।

यसैगरी उपसभापति विमलेन्द्र निधिले अन्य पार्टीबाट कांग्रेसमा समायोजन भएर आएका नेताकार्यकर्ताहरूको समायोजनसम्बन्धी विषयमा जानकारी गराएका छन् भने निर्वाचनसम्बन्धी निर्देशिका निर्माणका विषयमा समेत छलफल भएको छ ।

पदाधिकारी बैठकले निर्वाचनसम्बन्धी निर्देशिकाको टुंगो लगाउन सहमहामन्त्री महत र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाललाई जिम्मेवारी तोकेको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटका अन्य विषयमा भने कुनै छलफल नभएको सहमहामन्त्री महतले दाबी गरे ।

कांग्रेसले निर्धारण गरेको महाधिवेशन कार्यतालिकाअनुसार साउन १२ गतेबाट वडा अधिवेशन शुरू भइसक्नुपर्नेछ । गाउँ र नगरको अधिवेशन साउन १६, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २०, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गतेका लागि तय छ ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गतेका लागि तय छ । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्