
उमेर पुगेका केटाकेटीले विवाह गर्न योग्य वरबधु खोज्दै विज्ञापन गर्ने गरेको सहजै सुनिन्छ । तर बुहारीले ५१ वर्षीया सासुका लागि ‘लभर’ खोज्दै विज्ञापन गरेको कुरा पत्याउनुहुन्छ ?
अपत्यारिलो लाग्ने यस्तो विज्ञापन अमेरिकामा गरिएको छ । न्युयोर्कको हडसनकी एक महिलाले क्रेगलिस्टमा परेको विज्ञापन अनुसार उनकी ५१ वर्षीया सासुलाई ‘लभर’ चाहिएको छ, उसले विवाह र डिनरमा सहभागी हुनुपर्नेछ । २ दिनसम्म सँगसँगै रहेबापत ती भाडाका ‘लभर’लाई १ हजार डलर अर्थात् १ लाखभन्दा बढी रुपैयाँ पाइने छन् । यो विज्ञापन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
समाचारअनुसार विज्ञापन गर्ने ती बुहारीलाई एउटा विवाह समारोहमा सहभागी हुनुपर्नेछ । उनी चाहन्छिन् कि विवाह समारोहमा आफूसँगै सासु पनि सहभागी होऊन् र एक जोडीका रूपमा देखिऊन् । तसर्थ उनले सासुका लागि एक भाडाको ‘ससुरा’ खोजिरहेकी छन् ।
विज्ञापनमा लेखिएको छ, ‘सासु सेतो रंगको कपडा लगाउने छिन् । भाडामा लिइएको व्यक्तिले उहाँसँग एक जोडी जस्तै नाटक गर्नुपर्नेछ । २ दिनसम्म यस्तो गरेमा कोही पनि १ हजार डलर कमाउन सक्नेछ ।’
विज्ञापनमा खोजिएको व्यक्तिको उमेर ४०–६० वर्षको बीचमा हुनुपर्नेछ र नृत्य र बोलीचाली पनि राम्रो हुनुपर्ने शर्त विज्ञापनमा गरिएको छ ।