
तनहुँको व्यास नगरपालिका भित्रका १४ वटा स्लेट ढुंगा उद्योगलाई उत्खनन गर्ने अनुमति दिइएको छ ।
नगरपालिकाले स्लेट ढुंगा उत्खनन सम्बन्धी कार्यविधि बमोजिम कानूनीरूपमा ढुंगा उद्योगलाई अनुमति दिएको हो ।
व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले कार्यविधि बमोजिम प्रक्रिया पुगेका १४ वटा उद्योगका सञ्चालकलाई अनुमति प्रमाणपत्र हस्तान्तरण गरे । उत्खनन अनुुुमति हस्तान्तरण कार्यक्रममा नगर प्रमुख न्यौपानेले स्लेट ढुंगा उद्योगलाई व्यवस्थापन गर्न कार्यविधिअनुसार व्यवस्थित गर्न लागिएको बताए ।
नगरपालिकाभित्र उद्योगमैत्री वातावरण बनाउनको लागि प्रयास गरिरहेको र उद्योगले वातावरणीय पक्षलाई जोगाउँदै प्राकृतिक स्रोतको व्यवस्थित तरिकाले उत्खनन गर्नुपर्नेमा उनले जोड दिए ।
जिल्लामा दर्ता भएका १९ मध्ये पहिलो चरणामा १४ उद्योगलाई अनुमति प्रदान गरिएको नगरपालिकाका नगर प्रमुख न्यौपानेले जानकारी दिए ।
नगरपालिकाले आफ्नो पालिकाभित्र सञ्चालनमा रहेका उद्योगले नगरपालिकाबाट अनुमति लिएर मात्रै सञ्चालन गर्न यसअघि नै आग्रह गरेको थियो । व्यास नगरपालिका–१० र ११ मा सञ्चालनमा रहेका उद्योगले दिएको निवेदनअनुसार कानूनी प्रक्रिया पूरा गरेका उद्योगलाई उत्खनन अनुमति प्रदान गरिएको व्यास नगरपालिकाका वरिष्ठ अधिकृत राजेन्द्र कार्कीले जानकारी दिए ।
नगरपालिकाको कार्यविधिअनुसार स्लेट ढुंगा उद्योगलाई १ वर्षको लागि अनुमति दिइएको हो । वातावरणलाई जोगाउँदै अस्वस्थ प्रतिस्पर्धा नभई स्वस्थ प्रतिस्पर्धाबाट आफ्नो व्यवसायलाई मर्यादित बनाएर सञ्चालन गर्न प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले आग्रह गरे । नगरपालिकाले कार्यविधिअनुसार करको दायरामा ल्याएर स्लेट तथा ढुंगा उद्योगलाई व्यवस्थित गर्नु राम्रो पक्ष भएको तनहुँ स्लेट ढुंगा उत्खनन व्यावसायी समितिका अध्यक्ष ईश्वर पौडेलले बताए ।
नगरपालिकाले कार्यविधिअनुसार स्लेट ढुंगा उद्योग सञ्चालनको लागि कम्तीमा ५ रोपनी आवश्यक पर्ने र प्रतिरोपनी वार्षिक २ हजार रुपैयाँका दरले कर बुझाउनुपर्ने व्यवस्था रहेको व्यास नगरपालिकाका शाखा अधिकृत विमल गिरीले जानकारी दिए ।