
काठमाडौं, २६ जेठ — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको रुससँग सम्बन्ध रहेको आरोप बिहीवार झन् गहिरिएको छ । ट्रम्पले बर्खास्त गरेका एफबीआईका पूर्वनिर्देशक जेम्स कोमीले बिहीवार सिनेटको सुनुवाइमा दिएको बयानमा राष्ट्रपतिले आफूलाई बर्खास्त गर्नका लागि झुटो बोलेको आरोप लगाएका छन् ।

वाशिङटन र पूरै अमेरिकाले एकदमै चासोका साथ हेरेको उक्त सुनुवाइमा कोमीले गत वर्षको राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको विषयलाई एफबीआईले अनुसन्धान गरेका कारण ट्रम्पले आफूलाई हटाएको बताए । ट्रम्पले चाहिँ हिलारी क्लिन्टनविरुद्धको इमेल काण्डमा कोमीले राम्रो अनुसन्धान नगरेको आरोपमा उनलाई हटाएका थिए ।
तीन घन्टा लामो बयानमा कोमीले आफूलाई एफबीआईबाट निकालिएपछि ट्रम्प प्रशासनले आफ्नो र एफबीआईको बदनाम गर्नका लागि झुटो बोलेको आरोप लगाए ।
कोमीले ट्रम्पसँगको सबै बैठकको दस्तावेज राखेको बताए किनकि राष्ट्रपतिले बैठकमा बोलेको कुराका बारेमा झुटो बोल्ने उनलाई शंका थियो ।
उनले राष्ट्रपतिसँगको बैठकमा बोलेका कुराको विस्तृत विवरण एक साथीमार्फत प्रेसलाई लिक गरेका थिए ।
अनुसन्धानमा विशेष सल्लाहकार नियुक्तिलाई उत्प्रेरित गर्न उनले यसो गरेको बताए । रोबर्ट म्युलरलाई विशेष सल्लाहकार नियुक्त गरिएको छ ।
ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनविरुद्ध एफबीआईको अनुसन्धान बन्द गराउन ट्रम्पले आफूलाई अह्राएको उनले बताए ।
रुसले व्यापक मात्रामा अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको कोमीको बयानमा प्रस्ट भयो ।
विपक्षी डेमोक्रेटिक पार्टीका नेताहरूले कोमीलाई बर्खास्त गर्ने ट्रम्पको निर्णयले न्यायसम्पादनमा बाधा पुगेको हुनसक्ने र यही आधारमा राष्ट्रपतिविरुद्ध महाअभियोग लाग्न सक्ने बताइरहेका छन् ।
उता ट्रम्पका व्यक्तिगत वकिल मार्क कासोविट्जले राष्ट्रपतिसँगको बैठकका कुरा अनधिकारिक रूपमा प्रेसलाई चुहाएर कोमीले कानून उल्लंघन गरेको बताए ।
एजेन्सी