२८ जेठ २०८३, बिहीबार

शशांक निवासमा कांग्रेस संस्थापन इतरको बैठक, उपप्रधानमन्त्री माग्नेदेखि क्रियाशील सदस्यतासम्ममा छलफल

शशांक निवासमा कांग्रेस संस्थापन इतरको बैठक, उपप्रधानमन्त्री माग्नेदेखि क्रियाशील सदस्यतासम्ममा छलफल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल समूहको अनौपचारिक बैठक महामन्त्री शशांक कोइरालाको घरमा बसेको छ । 

कोइरालाको महाराजगञ्जस्थित घरमा बसेको बैठकमा आगामी महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने विषयमा समेत सामान्य छलफल भएको छ । 

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसीलगायतको सहभागिता थियो । 

बैठकमा क्रियाशील सदस्यता छानबिन समिति सदस्य प्रदीप पौडेललाई बोलाएर नेताहरूले सदस्यता छानबिनको विषयमा भइरहेको कामको बारेमा जानकारी लिएका थिए । 

बैठकमा सहभागी नेता मीनेन्द्र रिजालले लोकान्तरसँग भने, ‘महाधिवेशनसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्न अनौपचारिक रूपमा जुटेका थियौँ । सदस्यता छानबिनको सम्बन्धमा भएको कामबारे छलफल भएको छ ।’

कांग्रेसको संस्थापन इतर समूहको बैठकमा बोलाइएकाले आफू पनि सहभागी भएको सदस्यता छानविन समिति सदस्य एवं प्रवक्ता प्रदीप पौडेलले बताए । 

‘उहाँहरूले क्रियाशील सदस्यता छानबिनको विषयमा भइरहेको कामको बारेमा केही चासो राख्नु भएको थियो । उहाँहरूको जिज्ञासाको जवाफ दिएर फर्किएको हुँ,’ पौडेलले भने । 

बैठकले सरकारमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग सुजाता कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहमध्ये एक जनालाई उपप्रधानमन्त्री बनाउन माग गर्ने बारेमा पनि छलफल भएको बुझिएको छ । 

सुजाता कोइरालाले त यसअघि नै पार्टी सभापति देउवालाई फोन गरेरै मन्त्री बनाउन आग्रह गरेको भन्दै देउवाले आफ्ना निकटस्थहरूलाई जानकारी गराएका थिए । 

तर, बैठकमा सहभागी भएका नेता रिजालले भने कसैलाई मन्त्री बनाइदिन माग गर्ने बारेमा छलफल नभएको दाबी गरे । ‘हामीले मन्त्रीको नाम पठाउन हामीसँग मन्त्री माग गरिएको छ र ?,’ उनले भने, ‘आसन्न महाधिवेशनको समसामयिक विषयमा मात्रै छलफल गरेका हौँ ।’ 

salt training

कमेन्ट गर्नुहोस्