३० जेठ २०८३, शनिबार

एमाले बैठकमा ओली नेपालप्रति आक्रोशित, रावलप्रति नरम

साउन ५, २०७८
एमाले बैठकमा ओली नेपालप्रति आक्रोशित, रावलप्रति नरम

एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार र देउवा सरकार बनाउन सहयोग गर्ने दलहरूप्रति आक्रोश पोखेका छन् । देउवा सरकारले विश्वासको मत पाएको भोलिपल्ट सोमबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतप्रति आक्रोश पोखेका हुन् ।

बैठकमा ओलीले कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने, आफंै मुद्दा हाल्ने प्रवृत्तिको पार्टी भएको आरोप लगाए । उनले आफ्नो नेतृत्वको सरकार बहिर्गमनपश्चात बनेको गठबन्धनको देउवा सरकारलाई ‘टालाटुली’को संज्ञा दिए । ‘अब सत्ताको दुरुपयोग गरेर हामीमाथि हमला सुरु गर्छन् । देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाडाकुँडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भन्ने खालको हो,’ ओलीले भने ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता नेपाललाई ‘विषवृक्ष’ को संज्ञा दिए । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेपालप्रति आक्रोशित अध्यक्ष ओलीले भने, ‘पार्टीमा उहाँ (माधव)लाई सम्मान भएन रे । विषवृक्षलाई अझै सम्मान ?’

माओवादी केन्द्रका दाहालप्रति प्रहार गर्दै ओलीले भने, ‘माओवादी शिथिल छ । नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो । हुन त प्रतिपक्ष कसरी अगाडि बढ्छ भन्ने कुरा हो । विगतलाई फर्केर हेर्दा हामी आवश्यकताअनुसार परिआए जुझारु ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनुपर्छ ।’

बैठकमा अध्यक्ष ओलीले पार्टी उपाध्यक्ष भीम रावलको भने प्रशंसा गरेका थिए । अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएका एमाले उपाध्यक्ष रावलले देउवालाई विश्वासको मत नहालौं पार्टी एकताबद्ध बनाउनभन्दा नेता नेपालले म विधि निर्णय मान्दिनँ एक्लै भए पनि भोट हाल्छु भनेर हप्काएर पठाएको ओलीको भनाइ छ ।

ओलीले रावललाई आग्रह गर्दै भने, ‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने ? अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनू ।’ राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्