
मेयर मानबहादुर जिसीको उपचारार्थ पोखरा महानगरपालिकाले १० लाख रुपैयाँ दिने भएको छ ।
गत साउन १ गते मस्तिष्कघातबाट पीडित मेयरको उपचारार्थ महानगर उपमेयर मञ्जुदेवी गुरुङको अध्यक्षमा मंगलवार बसेको ५१औं कार्यपालिका बैठकले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
मेयर जिसीको हाल काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
सो रकम प्रकोप व्यवस्थापन कोषबाट खर्च गर्ने निर्णय भएको महनगरका प्रवक्ता धनबहादुर नेपालीले विज्ञप्तिमार्फत जनाएका हुन् ।
उनलाई शुरूमा हृदयघात भनिएकोमा मणिपालमा उपचारार्थ लैजाँदा चिकित्सकले मस्तिष्कघात पुष्टि गर्दै थप उपचारका लागि काठमाडौं रेफर गरेका थिए । उनलाई सोही दिन हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।
उनको शल्यक्रिया समेत भएको छ । हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सचिवालयले जानकारी दिएको छ ।
मेयर जिसीको स्वास्थ्य लाभको कामना गर्ने महानुभावका लागि महानगरका ३३ वटै वडा कार्यालयमा स्वास्थ्यलाभ पुस्तिका राख्ने निर्णय गरेको छ ।
कोरोनाविरुद्ध महानगरमा स्थगित कार्यक्रम तत्काल शुरू गर्ने निर्माण भएको महानगर प्रवक्ता नेपालीले जानकारी दिए ।