
विषाक्त मदिरा पिएर ४ जना मजदुरको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ ।
बागलुङमा सोमवार साँझ विषाक्त मदिरा पिएका ६ मध्ये ४ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्ती रहेका छन् । उनीहरूको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
उनीहरूसँगै मदिरा खाएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर रहेको र धौलागिरि अस्पतालमा उपचार सम्भव नभएपछि दुवै जनालाई गण्डकी अस्पताल पोखरा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हवारीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको प्रहरीले जनाएको छ ।
बागलुङमा पहिलोपटक ४ जनाको विषाक्त रक्सी सेवनका कारण ज्यान गएपछि प्रहरी गम्भीर भएर अनुसन्धानमा लागेको प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले बताए ।
‘७ दिनको समय दिएर डीएसपी सापको नेतृत्वमा टोली पठाएको छु,’ उनले भने, ‘अहिलेसम्म २ जना पक्राउ परेका छन्, मजदुरले खाएका चाउचाउ, दालमोठ र मदिराका भाँडाहरू समेत बरामद गरेका छौं ।’
पक्राउ पर्नेमा पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीय भक्तबहादुर बलाल रहेका छन् । उनीहरूसँग अहिले सोधपुछ चलिरहेको र शव परीक्षणको रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने उनले बताए ।