
नेकपा एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको विवाद समाधानका लागि बनेको कार्यदलले गरेको १० बुँदे सहमतिलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्ने दृष्टिकोण बनाएको छ ।
केन्द्रीय कमिटी बैठकको मंगलवार दोस्रो दिनको छलफलबारे जानकारी गराउँदै प्रवक्ता प्रदीप ज्ञवालीले बैठकमा कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले १० बुँदे सहमतिबारे जानकारी गराएका बताए ।
‘बैठकमा १० बुँदेलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्ने दृष्टिकोण निर्माण भयो,’ प्रवक्ता ज्ञवालीले भने ।
मंगलवारको बैठकमा विभिन्न प्रदेशका अध्यक्षले पार्टीको संगठनात्मक अवस्थाबारे जानकारी गराएका उनले बताए । ‘विभिन्न प्रदेशबाट प्रदेश कमिटीका अध्यक्षबाट रिपोर्ट सुन्यौं । उहाँले आफ्नो प्रदेशमा एमालेको संगठनात्मक अवस्था कस्तो छ ? राजनीतिक शक्ति सन्तुलनको अवस्था कस्तो छ ? पार्टी गतिविधि कस्ता छन् ? पार्टीबाट केही मान्छे बाहिरिँदा कस्तो प्रभाव पर्न सक्छ ? आसन्न निर्वाचनमा एमालेको अवस्था कस्तो रहनसक्छ ? भनेर छलफल भयो,’ उनले भने, ‘पार्टीभित्र रहेको अन्योल छिटोभन्दा छिटो समाप्त भएर पार्टी लयमा अगाडि बढ्नुपर्छ, पार्टीलाई चुस्तदुरुस्त बनाउनुपर्छ, अभियान, प्रशिक्षण अगाडि बढाउनुपर्छ । सरकारमा रहँदा गरेका कामबारे पार्टीपंक्तिलाई जानकारी गराउनुपर्छ । आफ्नै पनि केही कमी छन् भने गहन आत्मसमीक्षा गर्नुपर्छ भन्ने निष्कर्ष रह्यो ।’
प्रदेशबाट उठेका प्रश्नमाथि बुधवारको बैठकमा महासचिव ईश्वर पोखरेलले जवाफ दिने ज्ञवालीले बताए ।
नयाँ सरकारले सुकुम्वासी आयोग विघटन गर्न खोजेको चर्चाबारे समेत बैठकमा छलफल भएको प्रवक्ता ज्ञवालीले बताए । उनले भने, ‘सरकारले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने आयोगलाई विघटन गर्न खोजिएको चर्चा छ । आयोगका अध्यक्ष देवी ज्ञवालीले गरेका कामबारे बैठकलाई जानकारी गराउनुभयो । ७५३ वटै स्थानीय तहसँग सम्झौता गरेर लगत संकलन गरेको, स्थानीय तहबाट प्रमाणीकरण गर्ने र वास्तविक भूमिहीनलाई राज्यबाट जग्गा उपलब्ध गराउने काम आयोगले गरिरहेको छ, राजनीतिक आग्रह राखेर विघटन गरे गलत हुनेछ भनेर उहाँले बैठकलाई जानकारी गराउनुभएको छ ।’
बैठक भोलि बुधवार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । केन्द्रीय कमिटी बैठक सोमवारदेखि शुरू भएको थियो ।