नेपाली राष्ट्रिय महिला टोलीका उपकप्तान सीता राना मगरको ब्याटिङ वरियतामा सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० क्रिकेटको ब्याटिङ वरियताअनुसार उनी ९०औं स्थानमा रहेकी छन् ।
यसअघि मगर ९२औं वरियतामा रहेकी थिइन् । आईसीसीको वरियतामा पर्ने उनी एक मात्र नेपाली महिला क्रिकेट खेलाडी हुन् ।
महिला क्रिकेटको ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा, अस्ट्रेलियाकी बेथ मोनी दोस्रो, भारतकी स्मृति मन्धाना तेस्रो, अस्ट्रेलियाकी मेग लानिङ चौथो तथा अस्ट्रेलियाकी एलिसा हेली पाँचौं स्थानमा रहेकी छन् ।
नेपाल आईसीसी महिला टी–ट्वान्टी क्रिकेटको वरियतामा भने यथास्थानमा रहेको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालको स्थान १४ रहेको छ । नेपाल एकदिवसीय महिला क्रिकेटको वरियतामा भने हालसम्म पर्न सकेको छैन ।
टी–२० तथा एकदिवसीय क्रिकेटतर्फ बलिङको महिला वरियतामा नेपालबाट कुनै खेलाडी पर्न सकेका छैनन् ।