२८ जेठ २०८३, बिहीबार

भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको छ : मुख्यमन्त्री पौडेल

भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विविधताभित्र पनि एकता, सहिष्णुता, सम्मान र परस्परमा रहेको भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको बताएका छन् ।

आज मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व ‘बकर इद’ का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

“नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक देश हो । विविधताभित्र पनि एकता, सहिष्णुता, सम्मान र परस्परमा रहेको भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको छ । विविध जातजाति, भाषा, धर्म, संस्कृतिका नेपालीहरुको आ–आफ्नै मौलिक पर्वहरु छन् । यसमध्ये मुस्लिम समुदायले मनाउने एउटा महत्वपूर्ण पर्व बकर इद हो । मुस्लिम महिना ‘जुल हिज्जा’ को दशौँ दिन बकर इद मनाइँदै आएको छ । तीन दिनसम्म मनाइने यस पर्वलाई बलिदानी पर्वका रूपमा पनि लिइन्छ । यस पर्वको अवसरमा मस्जिदमा भेला भई नमाज पढ्ने, आ–आफ्नो घरमा बलि दिने र एक–अर्कामा शुभकामना आदानप्रदान गर्ने गरिन्छ”, मुख्यमन्त्री पौडेलले जारी गरेको सन्देशमा उल्लेख छ ।

सन्देशमार्फत पौडेलले कोरोना महामारीका कारण यस वर्षको बकर इद स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्दै मनाउनुपर्ने अवस्था रहेकाले भौतिक दूरीसहित स्वास्थ्य सावधानीका निर्धारित मापदण्डको पालना गर्दै नमाज पढ्न र शुभकामना आदानप्रदान गरी पर्व मनाउन अनुरोध गरेका छन् । “बकर इदले हामी सबैलाई जस्तोसुकै परिस्थितिमा पनि देश र जनताको पक्षमा सिर्जनशील भई सकारात्मक योगदान पु¥याउन थप प्रेरणा दिनेछ भन्ने विश्वाससहित सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमार्फत पौडेलले भनेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्