
माध्यमिक तह उत्तीर्ण परीक्षा (एसईई) नतिजा प्रकाशन नहुँदै ११ कक्षामा विद्यार्थी भर्ना नगर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले एक सूचना जारी गर्दै केही विद्यालयले ११ कक्षाको भर्ना शुरू गरिसकेको अभिभावकको गुनासो आएकाले एसईईको नतिजा प्रकाशित नभएसम्म भर्ना नगर्न आग्रह गरेको हो ।
नतिजा नै प्रकाशित नभइ विद्यार्थी भर्ना गर्न नपाइने भए पनि केही विद्यालयले ११ कक्षाको भर्ना सञ्चालन गरेको भन्दै नगर शिक्षा समितिले निर्णय गरी नतिजापूर्व भर्ना लिएमा कानून बमोजिम कारवाही गरिने समेत महाशाखाले जनाएको छ ।
नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्याल र नगर शिक्षा समिति सहितको टोलीले स्थलगत अनुगमन गरी केही विद्यालयलाई स्पष्टीकरण समेत सोधेको जनाएको छ । अनुगमनका क्रममा रजिस्ट्रेसन तथा सिट सुरक्षित गर्ने नाममा नतिजा अगाडि नै ११ कक्षाको भर्ना गरेको पाइएको पौड्यालले जानकारी दिए ।
विद्यार्थी अन्यत्र जान सक्ने भन्दै अधिकांश संस्थागत विद्यालयले रजिस्ट्रेसन शुल्कका नाममा थोरै रकम लिएर अनलाइन माध्यमबाट पठनपाठन शुरू गरेका छन् । महानगरमा २८ सामुदायिकसहित ५० भन्दा बढी ११ कक्षाको पठनपाठन गर्ने विद्यालय रहेका छन् ।
पौड्यालले अनुगमनलाई निरन्तरता दिएर आदेश नमानेमा कारवाही गरिने बताए ।