गत आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ ।
सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३/७४ देखि निर्माण थालिएका ती पुलहरू गत वर्ष सम्पन्न भएको जनाएको छ ।
कर्णाली राजमार्गका अधिकांश स्थानमा पक्की पुल नहुँदा यात्रुले लामो समयदेखि सास्ती भोग्नुपरेको थियो । पुल नहुँदा वर्षातका बेला यात्रुलाई जोखिम बढेको थियो ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनीयर तुलाराम शर्माले २०७४ जेठदेखि निर्माण थालिएका ती पुलहरूमध्ये तिलाखोलाबाहेक सबै पुलहरू २०७७ पुस मसान्तमै सम्पन्न भएको जानकारी दिए । तिलाखोला पुल २०७५ असारमा सम्झौता भई २०७८ जेठमा सम्पन्न भएको हो ।
सडक डिभिजन कार्यालयका अनुसार कर्णाली राजमार्गमा कुवाखोला, कालेखोला, पाल्तडा, कानेगाड, गुहेगाड, दहीखोला, तिला खोला, छिडेना खोला, सिञ्जा, पातले खोला, लुम्चडी र माटेखोलामा पुल निर्माण पूरा भएका हुन् ।
४२ करोड ४५ लाख ४९ हजार ४४४ लागतमा ती पुलहरू निर्माण भएका कार्यालयले जनाएको छ । इन्जिनीयर शर्माले पुल निर्माणका साथै अधिकांश स्थानमा राजमार्ग मर्मत सुधार गर्ने कार्य सम्पन्न भएको बताए ।
नाली खोल्नाका साथै भत्केको पर्खाल लगाउने, पहिरो पन्छाउनेजस्ता कार्य समयमै भएकाले यस पटकको वर्षातमा राजमार्ग अवरुद्ध नभएको उनको भनाइ छ ।