
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् ।
बुधवार नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले नेपाललाई कोभिड–१९ महामारीबाट मुक्त गर्नका लागि उद्योगी तथा व्यापारीले सहयोग गर्नुपर्ने धारणा राखे ।
उनले कोभिड–१९ महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै महामारी नियन्त्रणमा उद्योगी, व्यापारीहरूले हातेमालो गरेमा छिट्टै मुक्त हुन सकिन भन्दै सहयोगका लागि आह्वान गरे ।
उनले भने, ‘कोभिडको जो समस्या छ, त्यो समस्या समाधानका निम्ति नेपालका उद्योगपति व्यापारीहरूले सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ । म यहीँबाट फेरि उहाँहरूलाई अनुरोध र आह्वान गर्दछु कि नेपालमा जो महामारी फैलिएको छ । यो सरकारको कर्तव्य हो । यसलाई पालना गर्नुपर्दछ । साथै तपाईंहरूले पनि हातेमालो गरिदिनुभयो भने हामी छिट्टै यो महामारीबाट मुक्त हुन सक्छौं भन्ने मलाई आशा छ ।’
प्रधानमन्त्री देउवाले वर्तमान अर्थमन्त्री मेहनती भएको टिप्पणी गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास गरे । उनले भने, ‘हाम्रो अर्थमन्त्रीजी अत्यन्त मेहनती हुनुहुन्छ । मलाई विश्वास छ, उहाँले नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नुहुनेछ भन्ने विश्वास छ । उहाँले सक्नुहुन्छ पनि । अत्यन्तै मेहनती हुनुहुन्छ उहाँ । भिजन पनि भएको व्यक्ति हो उहाँ ।’
प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीको कारण धरासायी बनेको अर्थतन्त्रको समुन्नत विकासको लागि निजी क्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिए ।