इटहरी, २७ जेठ – उमेरका हिसाबले जिन्दगी ‘डुब्ने बेलाको घाम’ भइसकेको छ । सत्तरी वर्षीय उनको उमेरका धेरैजना ‘धर्म कमाउन’ तीर्थ धाइरहेका छन् । तर वाग्मती गाउँपालिका ८, मकवानपुरका भीमप्रसाद दुलाललाई भने देश र भावी सन्ततिको चिन्ता छ । त्यसैले त उनी कवितामार्फत युवा जगाउन देश दौडाहामा छन् ।
बीस वर्षपछि हुन लागेको स्थानीय चुनावले स्थानीय मतदातामा जस्तै कवि दुलालमा पनि उत्साह भरिएको छ । पहिलो चरणको निर्वाचनमा मतदान गरिसकेका दुलाल दोस्रो चरणको निर्वाचनमा ‘दल हैन, व्यक्ति छान्न’ भन्दै मतदातालाई सचेत गराउन पूर्वी नेपालका गाउँ डुल्दैछन् ।

दोस्रो चरणको स्थानीय चुनावको मिति नजिकिँदै जाँदा विभिन्न चोक र चियापसलमा दलीय एजेन्डा र उम्मेदवारबारे हुने बहसका अलावा १ नम्बर प्रदेशको सम्भावित राजधानी इटहरीमा दुलालका कविता पनि बज्न थालेका छन् ।
सैंतीस वर्षदेखि समाज जागरणका लागि कविता लेखनीमा सक्रिय दुलालले चुनावकै लागि भनेर ‘पञ्चवर्षीय भाग्यचित्र’ शीर्षकमा संग्रह नै प्रकाशन गरेका छन् । एक घण्टा लामो वाचन रेकर्ड गरेर उनका कविता क्यासेटमार्फत वस्तीहरूमा गुन्जिन थालेका छन् ।
कस्ले जित्ला भन्ने हैन, कस्लाई जिताऔं भनौंहाम्रो हातमा अधिकार आयो, असल व्यक्ति छानौं ।
उनका कविता सन्देशमूलक मात्र हैन, मन छुने खालका पनि छन् । आफ्नो गाउँभन्दा धेरै टाढाको शहरमा चुनावी माहौल तताउन सक्रिय दुलालले खर्चको जोहो पनि आफैंले गरेका छन् ।
कविता सुनाएबापत मनकारीले दिने पैसाबाट कविता छपाउँछन् र बचेको पैसाले दैनिकी चलाउँछन् । कविता सुनेर चासो देखाउने मान्छेलाई उनी २० रुपैयाँ पर्ने कविताको पुस्तक पनि देखाउँछन् । कसैले किन्छन्, कसैले त्यत्तिकै हेरेर जान्छन् ।

पहिलो चरणको चुनावका लागि वैशाख १५ गतेदेखि नै चुनावी सचेतनाको कविता रेकर्ड गराएर सुनाउँदै हिँडेको दुलालले सुनाए । हालसम्म राजधानी र आसपासका नौ जिल्लामा चुनावी कविता सुनाइसकेको उनले बताए । अब दोस्रो चरणको चुनावसम्म पूर्वका जिल्लामा सक्रिय रहने दुलालको योजना छ ।
गाउँमा प्रतिनिधिविहीन १९ वर्ष भयोजनयुद्ध शुरुदेखि यो देश घुमिरह्यो ।। विगतबाट पाठ सिक्दै भविष्यका योजना बनाउनुपर्ने सन्देश उनको कवितामा छ । नयाँ संविधान जारी भएपछि असन्तुष्ट रहेको मधेश र मधेशीले पनि चुुनावमा साथ दिने उनको बुझाइ छ ।
मधेसी नेताहरूले चुनाव टार्न खोजेपनि मधेसका जनताले चुनाव चाहेको उनले सुनाए । चुनाव घोषणापछि तराई–मधेसका जिल्ला डुलेर उनले लेखेको कविता यस्तो छ :
तराईवासी जनता छन् भोट दिनलाई तयारबखेडा झिकी दलाली नेता बनेका छन् कायर ।। पञ्चायती व्यवस्थाविरुद्ध २०३८ सालमै कविता लेख्न शुरु गरेका दुलाल १२ पटक जेल समेत परिसकेका छन् । ‘म शोषक र सामन्तको विरोधमा कविता लेख्छु । त्यसैले पञ्चायतकालमा थुप्रैपटक जेल बस्नुप–यो,’ दुलालले सुनाए ।
लोकतन्त्र प्राप्तिका लागि भएको दोस्रो जनआन्दोलनअघि पनि उनी तीन वर्ष जेल परे, माओवादी भएको आरोपमा । तर उनी माओवादीसँग आफ्नो कुनै लेनादेना नभएको बताउँछन् ।
मकवानपुर बसाइँ सर्नुअघि उनी ललितपुरको ठूलोदर्लिङ गाविसका बासिन्दा थिए । त्यहाँ उनी पञ्चायतकालको अन्तिम स्थानीय निर्वाचनबाट ‘जनपक्षीय’ वडाध्यक्ष समेत चुनिएका थिए । ठूलोदर्लिङको वडा नम्बर तीनमा दुईतिहाइ मत पाएर वडाध्यक्ष जिते पनि पञ्चायतका समर्थकले उनलाई गरिखान दिएनन् ।
सानैदेखि कम्युनिस्ट राजनीतिप्रति भुकाव राख्ने उनी अहिलेसम्म कुनै पार्टीको पनि सदस्य नभएको बताउँछन् । उनी आफूलाई ‘स्वतन्त्र वामपन्थी’को रूपमा चिनाउन चाहन्छन् । देशमा कम्युनिस्ट पार्टी धेरै भएपनि सच्चा कम्युनिस्ट नेता नभएको उनले सुनाए ।

कम्युनिस्ट पार्टी नै एकअर्काको विरुद्ध लागेको देखेर दुलालको मन दुख्दोरहेछ । त्यसैले त उनले कविता लेखेरै खिन्नता प्रकट गरेका छन् :
कम्युनिस्टकै खुट्टा तान्छन् कम्युनिस्टहरूआफ्नै आफ्नै झगडा गर्छन् चाहिँदैन अरू ।।नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको समाजवादलाई आफ्नो आदर्श मान्ने उनी कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा भने खुशी छैनन् ।
शेरबहादुरलाई भन्छु म त पाखण्डी नेताज्ञानेन्द्रलाई निम्ता गर्न जाने हुन् कि के था ।।