
नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौंडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घ्यू यस वर्ष निर्यात भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिए ।
हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित आयोजनाबाट आधा लिटरको बट्टामा विक्रम संवत् २०७७ वैशाखदेखि घ्यू निर्यात शुरू भएको बताइएको छ । एक पटकमा ७ देखि ८ हजार लिटर घ्यू निर्यात हुने गरेको छ ।
घ्यूको माग अत्यधिकरूपमा बढ्दै गएको आयोजना प्रमुख जोशीको भनाइ छ । विक्रम संवत् २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको आयोजनाबाट दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट संकलन भइरहेको छ ।
आयोजनाले ६ हजार दुग्ध कृषक घरपरिवारको १६४ दुग्ध उत्पादक सहकारी संस्था र ७ चिस्यान केन्द्रमार्पmत आव २०७७/७८ मा ५८ लाख लिटर दुग्ध खरिद गरी ३२ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ । त्यहाँबाट उत्पादित दूध, दही, पनिर, आइसक्रिम र पेडा लगायतका सामग्री वीरगञ्ज, हेटौंडा र नारायणघाटमा थोक तथा खुद्रा पसलमा बिक्री हुने गरेको छ ।
आयोजनाअन्तर्गत सातवटा दुग्ध चिस्यान केन्द्र क्रमशः चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, वरहथवा, हरैया, वसवरिया र स्रिम्रोेनगढमा रहेको छ । यसका साथै मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थाहरूबाट समेत दुग्ध संकलन हुने गरेको आयोजनाका सूचना अधिकारी ठाकुरदास श्रेष्ठको भनाइ छ ।