
बुटवल–बेलहिया व्यापारिक मार्ग अन्तर्गतको चौराहा–चिडियाखोला सडकखण्डको तत्काल निर्माणको काम अगाडि बढाउन युवा संघ नेपाल रुपन्देहीले आग्रह गरेको छ ।
बुटवलको चौराहा–गोलपार्क खण्डमा खाल्डाखुल्डी, धुलो र हिलोका कारण हिँडडुलमा समेत समस्या उत्पन्न भएको छ ।
खाल्डाखुल्डी तत्काल पुरेर हिँड्नयोग्य बनाउन माग गर्दै युवा संघ नेपाल रुपन्देहीले मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देही, व्यापारिक मार्ग परियोजना कार्यालय र निर्माण कम्पनीको सम्पर्क कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको छ ।
युवासंघ रुपन्देहीका अध्यक्ष मनोज गौचनको नेतृत्वमा युवा संघका केन्द्रीय सदस्यहरू, जिल्ला सदस्य तथा सल्लाहकार, खेलकुद महासंघका सचिवालय सदस्यसहित अगुवा युवाको टोली ती कार्यालयमा पुगेको थियो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ध्यानाकर्षणपत्र बुझाउँदै युवा संघले निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीबाट आमसर्वसाधारणमा सास्ती पुगेको भन्दै ठेकेदार उपर तत्काल कानूनी कारबाही अगाडि बढाउन माग गरेको छ ।
व्यापारिक मार्ग परियोजना कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउँदै तत्काल मर्मत सम्भारका काम अगाडि बढाउन र लामो समयदेखि रोकिएको विस्तारको कामलाई पनि तत्कालै अगाडि बढाउन प्रभावकारी निर्देशन दिन माग गरिएको अध्यक्ष गौचनले जानकारी दिए ।
निर्माण कम्पनीको पड्सरीस्थित सम्पर्क कार्यालयमा पुगेर युवासंघले तत्काल मर्मत सम्भार विस्तारका कामलाई अगाडि बढाउन ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण अनुसार काम तत्कालै नबढाए ठेकेदारलाई आफूहरूले नै समातेर कानूनी कारबाहीका लागि प्रशासनमा बुझाउने संघको चेतावनी छ ।
सडक खण्डको ठेक्का ‘द कंचनजंघा विरुवा जेभी काठमाडौं’ले पाएको थियो । पटक–पटक म्याद थप्दा समेत कम्पनीले काम अगाडि बढाएको छैन । सडक निर्माणको काममा निर्माण व्यवसायीको भूमिका बदनियतपूर्ण भएको संघले आशंका गरेको छ । अति संवेदनशील तथा सम्रग बुटवललाई नै कुरूप बनाएको सडकको निर्माण कार्यमा निर्माण व्यवसायीले गरेको अटेरीपना र ढिलासुस्तीलाई अब सहेर नबस्ने संघको चेतावनी छ ।
सीडीओमार्फत व्यापारिक मार्ग विस्तार परियोजना र निर्माण व्यवसायीविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउन माग गरिएको युवासंघका अध्यक्ष गौचनले बताए ।
गोलपार्कदेखि बेलहिया नाकासम्मको व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत बाँकी खण्डको काम सम्पन्न भए पनि राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकखण्ड वर्षौंसम्म निर्माण नहुँदा व्यापार, व्यवसाय र पर्यटन प्रवद्र्धनमा समेत ठूलो अवरोध सिर्जना भएको छ ।