
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशमा अमिक शेरचनलाई नै प्रदेश प्रमुख बनाउन सरकारलाई सिफारिश गरेको छ ।
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गत वैशाख २० गते शेरचनलाई हटाएर सीता पौडेललाई प्रदेश प्रमुख बनाएको थियो ।
शेरचनलाई अपमानजनक ढंगले फिर्ता गरिएको भन्दै उनलाई नै प्रदेश प्रमुख बनाउन सिफारिश गरिएको माओवादी स्रोतले बतायो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलवार बिहान भेटेर माओवादी अध्यक्ष प्रचण्डले नाम बुझाएको स्रोतले जानकारी दियो ।
सरकार परिवर्तन भएपछि यसअघि केपी शर्मा ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुख फेर्ने गृहकार्य भइरहेको छ ।
गण्डकी, लुम्बिनी र प्रदेश २ को प्रदेश प्रमुख फेर्ने तयारी सत्ता गठबन्धनको छ ।
माओवादीले आफ्नो भागमा परेमा प्रदेश २ मा तिलक रावल र सुदूर पश्चिममा ओली सरकारले हटाएकी शर्मिला त्रिपाठीलाई नै प्रदेश प्रमुख बनाउने तयारी गरेको छ ।