
कावासोती नगरपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई अनुदान दिएको छ ।
दूधमा अनुदानस्वरूप गत आर्थिक वर्ष २८ लाख १७ हजार ८९३ रुपैयाँ प्रदान गरिएको हो ।
दूधको उत्पादन बढाउने र किसानलाई प्रोत्साहन गर्ने गर्ने उद्देश्यले दूधमा प्रतिलिटर १.२५ रुपैयाँका दरले अनुदान प्रदान गरिँदै आएको नगरपालिकाका कृषि तथा पशु विकास शाखा प्रमुख डा. टेकराज पौडेलले बताए ।
जनकल्याण दुग्ध विकास सहकारी संस्था, साना किसान कृषि सहकारी संस्था, शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्था र एकीकृत दुग्ध विकास सहकारी संस्थामार्फत नगरपालिका भित्रका १ हजार ५०० दूध उत्पादक किसानलाई २२ लाख ५४ हजार ३१५ लिटर दूधको १.२५ रुपैयाँका दरले गत आवमा अनुदान प्रदान गरिएको उनको भनाइ थियो ।
कावासोती कृषिका लागि उर्बर क्षेत्र भएकाले त्यहाँ लगानी बढाउनुका साथै माछापालन, मौरीपालन र धानखेती गर्ने किसानलाई समेत अनुदान प्रदान गरिएको नगर उपप्रमुख पे्रमशंकरमर्दनीया थारूले बताइन् ।
नगरभित्रका विभिन्न वडालाई माछा, मौरी, धान, दूधको पकेटक्षेत्र निर्धारण गरी उत्पादन बढाउन अनुदान दिनाका साथै गत वर्ष धानखेती गर्ने २ हजार ५०० किसानलाई बीउमा समेत अनुदान प्रदान गरिएको उनको भनाइ थियो ।