
तालिबानको एक प्रतिनिधिमण्डल चीन पुगेर त्यहाँका परराष्ट्रमन्त्री वाङ यीसँग भेटघाट गरेको छ ।
तालिबानका लडाकूहरूले देशको आधा भागमा नियन्त्रण कायम गरिसकेका छन् र चीनको सिन्ज्याङ प्रान्तको सीमामा पनि उनीहरूकै कब्जा छ ।
तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गानी बारादरले प्रतिनिधिमण्डलको नेतृत्व गरेका हुन् र चीनका परराष्ट्रमन्त्री वाङसँग थ्यानचिनमा बुधवार भेटघाट गरेका छन् ।
तालिबानले बादाख्शान र कन्दहार प्रान्तका महत्त्वपूर्ण जिल्लाहरूमा कब्जा गरेपछि पहिलोपटक त्यसका वरिष्ठ सदस्यले चीन भ्रमण गरेका हुन् ।
बेइजिङले अफगानिस्तानबाट अमेरिकी सैनिकको फिर्तीलाई नजिकैबाट हेरिरहेको छ र त्यस देशमा थप भूमिका खेल्न चाहेको छ । अफगान र पाकिस्तानी समकक्षीहरूसँग जुन महिनामा गरेको भेटघाटमा वाङले तालिबानलाई राजनीतिक मूलधारमा ल्याउने प्रतिज्ञा गरेका थिए र अन्तरअफगान शान्तिवार्ता गराउने प्रस्ताव राखेका थिए ।
‘यो समस्या अफगानिस्तानभित्रै समाधान गर्नुपर्ने चीनको अडान छ । अनि अफगानिस्तानको परिस्थितिले चीनको सुरक्षा जोखिममा पार्नुहुँदैन,’ एक स्रोतले साउथ चाइना मर्निङ पोस्टलाई बताए ।
विगतमा तालिबानले सिन्ज्याङका उइगुर लडाकूहरूलाई समर्थन गरेको भए पनि अहिले चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएको छ ।