
प्रतिनिधि सभा सदस्य पुनर्वहालीको माग गर्दै नेकपा माओवादीबाट निर्वाचित भएर कारवाहीमा परेका चार पूर्व सांसद सर्वोच्च अदालत गएका छन् ।
माओवादी केन्द्रले सांसदबाट कारवाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
पार्टी छाडेर एमालेमा प्रवेश गरेको भन्दै माओवादीले उनीहरूलाई सांसदबाट हटाएको थियो । यसअघि उनीहरू माओवादी पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोग गएका थिए । निर्वाचन आयोगले उनीहरूको निवेदन खारेज गरिदिएको थियो ।
माओवादी छाडेका चारैजना प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनीहरूको पद रिक्त भएको सूचना संसद बैठकमा सुनाइएको थियो ।
प्रतिनिधि सभा पुनर्स्थापना भएपछि चार पूर्व सांसद सर्वोच्च अदालत गएका हुन् । सर्वोच्च अदालतले रिटमाथिको सुनुवाइको पेशी विहीबारका लागि तोकेको छ ।
ओली नेतृत्वको सरकारमा सहभागी भएको भन्दै चैत २६ गते माओवादीले उनीहरूलाई सांसद पदबाट हटाएको थियो ।