
माओवादी केन्द्रबाट कारवाहीमा परेका नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमै रहेको दाबीसहित प्रतिनिधि सभा सदस्य पुनर्वहालीका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
बुधवार सर्वोच्च अदालतमा दायर गरेको रिटमा रायमाझीले आफूले अर्को दल गठन नगरेको तथा एमालेको केन्द्रीय कमिटीको सूचीमा नरहेको दाबी गरेका हुन् ।
‘निर्वाचन आयोगको रेकर्डअनुसार म निवेदक माओवादी केन्द्रमा रहेको पुष्टि हुन्छ, म निवेदकले अर्को दल गठन गरेको पनि छैन । २०७८ असार २३ गते आयोगको रेकर्डअनुसार म माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति सदस्य छु । ‘...नेकपा एमालेको केन्द्रीय कमिटीको लिस्टमा पनि छैन । ...दल परिवर्तन गरेकै छैन । झुटो आरोप लगाई गरेको कारवाही बदर गरि पाउँ,’ रायमाझीले रिटमा भनेका छन् ।

२०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी भएका रायमाझी लगायत चार जना सांसदलाई माओवादीले कारवाही गरेको थियो ।
सांसद पदबाट कारवाही गर्ने माओवादीको निर्णयविरुद्ध रायमाझीसहित लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
रिटमाथि सुनुवाइका लागि बिहीवार पेशी तोकिएको छ ।