२२ जेठ २०८३, शुक्रबार

कान्तिपुर डेन्टल कलेजदेखि चिरायु अस्पतालले तिरेनन् कर, तीन दिनभित्र तिर्न काठमाडौं महानगरको चेतावनी

कान्तिपुर डेन्टल कलेजदेखि चिरायु अस्पतालले तिरेनन् कर, तीन दिनभित्र तिर्न काठमाडौं महानगरको चेतावनी

काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदातालाई तीन दिनभित्र घरजग्गा सम्पत्तिलगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ । 

महानगरपालिकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करीब २३ वटा ठूला करदाताको कार्यालयस्थलमै पुगेर माइकिङ गर्दै आज (बुधवार) बाट ३ दिनभित्र अर्थात् साउन १६ गतेभित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो । 

उनीहरूबाट करीब ७० करोड कर असुली गर्न बाँकी रहेको अनुमान गरिएको छ । तोकिएको समयभित्र पनि अटेर गरेर कर नतिरे ती करदाताहरूको व्यवसायमा तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्ने सहितको कडा कारबाही गर्ने काठमाडौं महानगरपालिकाको राजस्व विभागका विभागीय प्रमुख डा. शिवराज अधिकारीले बताए । 

‘कर दाखिला तीन दिनभित्र पनि नगरे राजस्व ऐन, स्थानीय सरकार सञ्चालन ऐन र प्रचलित कानून, नीति, नियमअनुसार उनीहरूको व्यवसाय तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्नेलगायत कडा कारवाही गरिनेछ,’ उनले भने । 

काठमाडौं महानगरपालिका राजस्व विभागको कार्यालयले गत असार ३० गते जारी गरेको सार्वजनिक सूचनामा पटक–पटक ताकेता गर्दा पनि सम्पत्ति कर नबुझाउनेहरूमा कान्तिपुर डेन्टल हस्पिटल, चिरायु हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, एनआरटी क्लब, युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, बुद्धबारी कम्प्लेक्स, बागमती च्याम्बर, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल क्षयरोग केन्द्र, नेपाल रेडक्रस सोसाइटी, आदर कम्प्लेक्स, नेशनल हस्पिटल, शहीद मेमोरियल हस्पिटल, कृषि सामग्री संस्थान रहेका छन् । 

त्यसैगरी मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री को-अपरेटिभ, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, गोपालजी प्रोपर्टिज र स्टारमलसमेत गरेर २३ वटा ठूला करदाताले अटेर गरेपछि तीन दिनभित्र कर असुल गर्न माइकिङसमेत गरेर ताकेता गर्नुपरेको महानगरले जनाएको छ । 

विभागीय प्रमुख अधिकारीले कतिपय करदाताहरूलाई अदालतले समेत तत्काल कर दाखिला गर्न आदेश दिँदा पनि अटेर गरिरहेको बताए । काठमाडौं महानगरपालिका राजस्व विभागले सम्पत्ति कर सम्बन्धित वडा कार्यालयबाटै उठाउँदै आएको छ । तर, ठूला करदाताहरूले कर नतिर्न अदालत जानेलगायतका काम गरेपछि असुलीको काम आफैंले गर्नु परेको पनि विभागीय प्रमुख अधिकारीले स्पष्ट पारे । 

तत्काल सबैै सम्पत्ति कर असुली गर्न समस्या भए वर्ष दिन भित्र तीनवटा किस्तामा दाखिला गर्न पनि राजस्व विभागले करदाताहरूलाई सूचितसमेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्