
गुल्मीमा जीप दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको सनाखत भएको छ ।
ज्यान गुमाउनेमा चन्द्रकोट गाउँपालिका–४ का ४३ वर्षीय तेजबहादुर खत्री, सोही गाउँपालिका–५ का ३६ वर्षीय रेशम कार्की र रेसुङ्गा नगरपालिका–२ बाख्रेछेंडा बस्ने ६२ वर्षीया सुनिता विक रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
उनीहरूको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा ७ जना घाइते भएका छन् ।
घाइते हुनेमा चन्द्रकोट गाउँपालिका–६ की विनिता परियार, ७ की मुना भण्डारी, ४ का गगन क्षेत्री, ५ का जीप चालक बमबहादुर विक, ८ का सुशील विक, ७ का गोकुल भण्डारी र रेसुङ्गा नगरपालिका–२ की रमिला भण्डारी रहेका छन् ।
घाइतेमध्ये गोकुल, रमिला र मुनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ भने अन्य ४ जनालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगिएको छ ।
घाइतेमध्ये पाल्पा लगिएका २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बुधवार बिहान चन्द्रकोट गाउँपालिका–४ अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४५५९ नम्बरको जीप बुधवार बिहान ११ बजे मुसिकोट नगरपालिका–४ अन्तर्गत इन्द्रेगौंडाको दोभान नजिकै दुर्घटना भएको थियो ।
दुर्घटनामा परेकालाई स्थानीय र सुरक्षाकर्मीले उद्धार गरेका थिए । ‘जिल्ला प्रशासन कार्यालयमा कामका लागि बिहान रुपाकोटबाट जीपमा चढेर आउँदै थिए, त्यहाँ नजिकै आउँदै गर्दा सडक कुनामा थोरै पहिरो खसेको थियो । बाटो सजिलै थियो, अचानक कसरी दुर्घटना भयो थाहै भएन,’ दुर्घटनाका घाइते गोकुल भण्डारीले भने ।
दुर्घटना भएको जानकारी पाएलगत्तै वामी, मजुवा र सदरमुकाम तम्घासबाट प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाका कारण भने खुल्न सकेको छैन । दुर्घटना भएको जीप सडकबाट करीब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।