
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावबारे अध्ययन गरेर योजना बनाउने बताएका छन् ।
बिहीवार बिहान सिंहदरवारमा पदबहाली गर्दै उपाध्यक्ष पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावबारे अध्ययन गर्ने बताए । उनले अब नियमित कामका साथै समग्र योजना तर्जुमाको गुणस्तर बढाउने, अर्थ सहितका अन्य मन्त्रालयलाई पृष्ठपोषण दिने गरी काम गर्ने बताए ।
योजना आयोगसँग प्रत्यक्ष र नियमित रूपमा जोडिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको उपाध्यक्ष पौडेलले बताए ।
उपाध्यक्ष पौडेलले भने, ‘कोभिड र फ्ल्डको इम्प्याक्टको बारेमा हामीले हेर्नुपर्नेछ, त्यसपछि रेगुलर काम, ओभरल प्लानिङको गुणस्तर बढाउने र अर्थलगायत अरु मन्त्रालयहरूलाई छुट ब्याक दिने काम र हामीलाई चाहिने अरु निकायहरूलाई बलियो बनाउने हाम्रो लक्ष्य छ, सरहरू र कर्मचारीबाट यही अपेक्षा छ ।’
उनले आफ्नो बाँकी कार्यकाल सरकारलाई उपयोगी हुने काम गर्ने प्रतिज्ञा गरे ।