
निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पहिलोपटक अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा बसेको जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठकले बिहीवार ३ निर्णय गरेको छ ।
बैठकले छानबिन समितिदेखि अनुशासन आयोग गठनसम्मका निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।
बैठकले पार्टीभित्र हुने समस्याको छानबिन गर्न नवराज सुवेदीको संयोजकत्वमा गोविन्द चौधरी, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, दुर्गा सोव रहेको ५ सदस्यीय समिति गठन गरेको, केन्द्रीय कमिटी सदस्य नरसिंह चौधरी प्रमुख रहने गरी केन्द्रीय अनुशासन आयोग गठन गरेको र २०७८ भदौ १ गतेदेखि मंसिर मसान्तसम्म संगठन सुदृढीकरण तथा जनजागरण अभियान सञ्चालन गर्ने कार्ययोजना पारित गरेको छ ।
बैठक ३ दिनदेखि जारी रहेको थियो । बैठकले महन्थ ठाकुर पक्षमा लागेका १६ जनालाई कारवाही गर्नेबारे कुनै पनि निर्णय गरेन । निर्वाचन आयोगले नै पार्टी खोल्ने विकल्प दिएकाले जसपाले निर्णय गर्नु नपर्ने ठहर बैठकले गरेको छ ।