
नेपाली कांग्रेसमा आसन्न १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।
कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले आज पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरण सम्बन्धी प्रतिवेदन बुझाएको छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज भएको बैठकमा समितिका संयोजक रमेश लेखकले उक्त प्रतिवेदन पार्टी सभापति देउवालाई बुझाउनुभएको हो । संयोजक लेखकका अनुसार चार लाख नौ हजार ३३ जनाको नवीकरण गरिएको छ भने चार लाख ४३ हजार ६७८ जनालाई नयाँ क्रियाशील सदस्यता प्रदान गरिएको छ । क्रियाशील सदस्यता सङ्ख्यामा ७४ दशमलव २६ प्रतिशत पुरुष, २२ दशमलव ६२ प्रतिशत महिला र शून्य दशमलव शून्य दुई प्रतिशत अन्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिलो प्राप्त भएकाले त्यसलाई टुङ्ग्याउन बाँकी रहेको छ । अन्य पार्टीबाट कांग्रेसमा समायोजन भएकाका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको समिति सदस्य श्यामकुमार घिमिरेले जानकारी दिनुभयो । उक्त विवाद अब कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले टुङ्ग्याउने बताइएको छ ।