
काठमाडौं, २८ जेठ– विश्वकप २०१८ को छनोटअन्तर्गत गएराति भएको खेलमा जर्मनीले शानदार जित दर्ता गरेको छ ।
युरोपियन क्षेत्रको छनोटअन्तर्गत समूह ‘सी’ मा रहेको विश्व विजेता जर्मनीले सान मारिनोलाई ७–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जिताउन सान्ड्रो वाग्नरले ह्याट्रिक गरे । छनोट चरणमा अहिलेसम्म भएका सबै ६ खेल जितेको जर्मनी १८ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
विश्वकप छनोटअन्तर्गत गएराति भएको अर्को खेलमा इङ्ल्यान्डलाई स्कटल्याडले दुई–दुई गोलको बराबरीमा रोकेको छ ।
विश्वकप छनोटअन्तर्गत गएराति भएको समुह एफका खेलहरुमा पोल्याण्ड, डेनमार्क र मोन्टेनेग्रो विजयी भएका छन् । पोल्याण्डले रोमानियालाई ३–१ ले हराएको हो । खेलमा पोल्याण्डलाई विजयी गराउन रोबर्ट लेवानडोस्कीले ह्याट्रिक गरे ।