
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकमा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् । ड्रिम हाउस इन्टरनेसनल पार्टी प्यालेस, नयाँ वस्तीमा आयोजना गरिएको बैठकमा ओली सहभागी भएका हुन् ।
ओली बैठकमा सहभागी भएपछि नेता कार्यकर्ताहरूले उनको स्वागतमा ‘केपी बा आई लभ यू’ भन्दै नाराबाजी गरेका थिए ।
ओली बैठकमा सहभागी हुनुअघि नै एमालेका महासचिव ईश्वर पोखरेलले बैठकलाई सम्बोधन गरेर बाहिरिएका थिए ।
सम्बोधनको क्रममा पोखरेलले पार्टीको संगठनको अवस्था र गतिविधिका बारेमा जानकारी गराउन निर्देशन गरेको काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राईले बताए ।
बैठकले सचिवालय गठन गरेको छ भने काठमाडौंका सबै नगरमा नगर कमिटी घोषणा गरेको छ । त्यसैगरी काठमाडौं जिल्ला कमिटीको आगामी कार्यक्रमका बारेमा पनि बैठकमा छलफल भइरहेको राईले जानकारी दिए ।
काठमाडौं जिल्लामा १० निर्वाचन क्षेत्र, एक महानगरपालिका र १० नगरपालिका रहेको छ । काठमाडौंका अधिकांश जनप्रतिनिधि र जिल्ला नेतृत्व ओली पक्षको छ ।
काठमाडौं जिल्ला कमिटीको बैठकमा भने माधव नेपाल पक्षका नेता कार्यकर्ता भने सहभागी भएका छैनन् ।
माधव नेपाल समूहले काठमाडौंमा बसन्त मानन्धरको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी बनाएको छ ।